नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज धनगढी आउँदै छन्। मध्यान्ह १२ बजे श्रीएयरको विमानमार्फत रावल धनगढी आउने कार्यक्रम तय भएको सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।
उनका अनुसार कार्यकर्ता भेटघाटका लागि रावल धनगढी आउन लागेका हुन्। उनले उहाँले भेट्ने ईच्छा जाहेर गरेपछि एकीकृत समाजवादीका नेता–कार्यकर्तासंग पनि भेट पनि हुन सक्ने बताए। नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेश सांसद तारा लामा तामाङले भने भेटघाटको कुनै कार्यक्रम तय नभएको बताए। ‘बोलाउनु भयो भने अवश्य भेट हुन्छ,’ तामाङले भने।
यसअघि आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। एमाले र तत्कालिन समयमा नेकपाको इञ्चार्ज रहेका रावल भने ओलीको उक्त निर्णयमा असन्तुष्ट रहेको स्रोतको दाबी छ। रावलले आइतबार आफू निकट सांसद र नेताहरुलाई सिंहदरबार बोलाएर छलफल गरेका थिए। ओलीले उनलाई उपाध्यक्षकै हैसियतमा सहजिकरण गर्न भने पनि सुदूरपश्चिम इञ्चार्ज आफू नै हुनुपर्ने रावलको अडान छ।
इञ्चार्ज विवादकै बेला उनी धनगढी आउने भएका हुन्। लेखराज भट्ट पनि सोमवार कैलाली आईसकेका छन्। उनी आज सुख्खा बन्दरगाहको अनुगमनका लागि कञ्चनपुर गएको बताईएको छ।