कञ्चनपुरका सामुदायिक वनद्धारा वन उपभोक्ता महासंघको सदस्यता परित्याग 
2020/06/13, 8:11
 
ban

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बाट कञ्चनपुरका नौ वटा सामुदायिक वनले संयुक्तरुपमा सदस्यता परित्याग गरेको घोषणा गरेका छन । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएका सामुदायिक वनका पदाधिकारीको संयुक्त बैठकले सदस्यता परित्याग गर्ने निर्णय गरेका हुन ।

सामुदायिक वन उपभोक्ता महासङ्घले निरन्तर रुपमा वैज्ञानिक वन व्यवस्थापनका विरुद्धमा गतिविधि निरन्तर रुपमा अगाडि बढाइरहेकाले फेकोफनबाट अलग हुने घोषणा गरिएको बैठकमा सहभागी वैजनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह महराले बताए । 

वैज्ञानिक वन व्यवस्थापनमा आधारित सामुदायिक वनको छुट्टै छाता सङ्गठन निर्माण गरी निरन्तर रुपमा वन तथा वातावरण संरक्षण र वनमार्फत जनताको जीवनस्तरमा सुधार गर्ने दीर्घकालीन रणनीतिका साथ अगाडि बढ्ने बैठकका सहभागीले प्रतिबद्धता व्यक्त गरेको उनले बताए । नेपाल सरकारको नीति तथा कार्यक्रमबमोजिम वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अनुसार जिल्लामा नौ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनमा आधारित कार्यक्रम सञ्चालनमा रहेको छ ।

फेककोफनबाट सदस्यता त्याग गर्ने सामुदायिक वनमा शुक्लाफाँटा नगरपालिकामा रहेका बैजनाथ सामुदायिक वन, कृष्ण सामुदायिक वन, कृष्णपुर नगरपालिमा रहेका ग्वासी सामुदायिक वन, जगदम्बा मयुर सामुदायिक वन, सिंहपुर सामुदायिक वन, सीता सामुदायिक वन, हरियाली सामुदायिक वन, महाकाली सामुदायिक वन र बेलौरी नगरपालिकामा रहेको रामनगर सामुदायिक वन रहेका छन ।