सुदूरपश्चिममा पुगेर रावल र भट्ट दुवैले गरे प्रदेश इन्चार्जको दाबी
2021/09/14, 6:59
 
V

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् । मंगलबार सुदूरपश्चिम पुगेका दुई नेताबीच इन्चार्जकै विषयमा टकराव देखिएको हो ।
दुवै नेताले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश ईन्चार्ज वा संयोजक भएको दाबी गरेका छन् । भट्टले कञ्चनपुर पुगेर पार्टीको इन्चार्ज आफू भएको बताएका छन्, भने यता कैलाली पुगेर रावलले सुदूरपश्चिमको संयोजक आफू भएको दाबी गरे ।

कैलालीमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता रावलले पार्टी १० बुँदे सहमतिअनुसार अगाडि बढिसकेकाले आफू सुदूरपश्चिमको संयोजक भएको बताए । एमालेमा २०७५ जेठ २ अघिको अवस्थामा प्रदेशमा इन्चार्ज नभएर संयोजकको संरचना थियो । सोही संरचनाअनुसार रावलले आफू प्रदेशको संयोजक भएको बताएका हुन् ।

उता प्रेस चौतारी नेपालले कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा लेखराज भट्टले एकीकरणसहितको नेकपा एमालेको इन्चार्ज आफू भएको दाबी गरे । उनले भीम रावल सहजीकरण कार्यदलको संयोजकको भूमिकामा रहेको र आफूहरूबीच कुनै मतभेद नभएको समेत बताए । उनले अध्यक्ष ओलीले नै जिम्मेवारी बाँडफाँट गरेको बताए ।