कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
2021/09/15, 10:57
 
aa

कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको कृष्णपुर नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर -५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ऐरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएका उनको बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटना बुधबार बिहान ६ बजे भएको थियो। एम्बुलेन्स बाँस्खेडा रेडक्रस उपशाखाको रहेको र चालक भीमदत्त नगरपालिका -१६ का ४० वर्षीय गणेश विष्ट इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा रहेको बताइएको छ। दुर्घटनापछि स्थानीयले बिहानैदेखि सडक समेत अवरुद्ध गरेका छन्। स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन्।