जिल्ला अस्पताल बाजुरामा दुई दिनसम्म प्रसुती सेवा अवरुद्ध भएको छ । आरडीटी जाँचमा पोजेटिभ देखिएकी १७ वर्षीया युवतीको उपचार गरिएको कक्षलाई संक्रमण रहित गर्नुपर्ने हुँदा दुई दिनका लागि सेवा अवरुद्ध भएको हो । जिल्ला अस्पताल बाजुराले प्रेस विज्ञप्ती जारी गर्दै लेबर रुम र प्रसुती गृहलाई संक्रमण रहित गर्नुपर्ने भएको हुँदा सेवा अवरुद्ध हुने जानकारी गराएको छ ।
जेष्ठ १४ गते भारतबाट आएका क्वारेन्टाइनमा बसेकी पाँच महिनाकी गर्भवती १७ वर्षकी युवतीलाई उपचारर्थ राखिएको कक्ष भएकोले संक्रमण रहित गर्न दुई दिन लाग्ने जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । जडीबुटी गुर्जो खाएपछि ती युवतीमा अत्याधिक रक्तश्राव भएको थियो । दिउँसो जिल्ला अस्पतालमा भर्ना भएकी उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने अस्पतालले बताएको छ ।
पीसीआर जाँचको रिर्पाेट नआएकोले अनिवार्य उपचार कक्ष संक्रमण रहीत बनाउनुपर्ने र त्यसपछि मात्र उपचार गर्नुपर्ने अस्पतालले बताएको छ । जिल्ला अस्पतालले २ दिनसम्म पर्न जाने असुविधा प्रति सम्बन्धीत पक्षसँग क्षमा मागेको छ । कार्यालय प्रमुख रुपचन्द्र विश्वकर्माद्धारा जारी विज्ञप्तीमा जटिल प्रसुति र शल्यक्रिया सहितको प्रसुती सेवा बन्द हुने जानकारी गराईएको छ ।