३५ वर्षपछि जोडियो डोटीको सहजपुर–बोगटान सडकको ट्रयाक
2021/09/20, 10:45
 
ss

डोटीको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्रयाक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाख रुपैयाँ लागतमा यो सडक निर्माण गरिएको हो ।  बहुप्रतिक्षित बोगटान सडकको ट्रयाक  जोडिएको हो । यो सडक खड्का कृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्त रुपमा निर्माण गरेका हुन् । २०४३ सालदेखि सडक निर्माणको काम सुरु भएको थियो । 

बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले भने, –’वर्षौं पछि सडकको ट्रयाक  जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भयौँ, योभन्दा अरु खुसी के नै होला र !’ बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले आउँदो दिनमा सडकको स्तरोन्नतिका लागि गाउँपालिकाले लगानी गर्ने बताईन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटक–पटक निर्देशन दिएका थिए । 

यो गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भने, ’मुख्यमन्त्रीले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिनुभयो । हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोग सहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो ।’

प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्रयाक  जोडिएको पूर्वाधार विकास कार्यालय डडेलधुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, ’कच्ची ट्रयाक जोडिएको छ, अब कालोपत्रका लागि पहल गर्नुपर्छ ।’ 

यो सडकले कैलालीको सहजपुर, वीपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोड्ने बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।  उनले भने ,’कच्ची ट्रयाक जोडिएको छ, यहाँका हजारौँ नागरिकलाई यातायात सुविधा सहित राहत हुने भएको छ ।’

सडक सञ्जाल जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएको छ । 

यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो । २०१५ सालपछि धनगढीबाट दिपायलका लागि यो सडकको काम सुरु गरिएको थियो । ‘धनगढी–दिपायल (डीडी) सडक’ को नामले निर्माण सुरु भएको सडक विगतमा पहुँचका आधारमा ‘धनगढी–डडेलधुरा–दिपायल नामकरण गरेर निर्माण गरिएको नेपाली कांग्रेस नेता दीपककुमार विष्टले जानकारी दिए । 

२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङाली सहित डोटीका साविकका दश गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति अहिले प्रदेश सभा सदस्य भरतबहादुर खड्काले त्यस सडकको शिलान्यास गरेका थिए ।