३ कार्तिक २०७७ को राति धनगढीको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्जसहित दुई जना प्रहरीको तस्कर समूहले विभत्स हत्या गरेर शव मोहना नदीमा फाल्यो । नेपाल–भारत सीमा नजिकै प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद तस्करी नियन्त्रणका लागि खटिएका बेला भारततर्फ लैजाँदै गरेको केराउ रोक्न खोज्दा मारिएका थिए । उनीहरुको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केराउ व्यापारी धरौटीमा छुटेका छन् । त्यो मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । गत सोमबार कञ्चनपुरको सुन्दरनगर यस्तै प्रकृतिको अर्को काण्ड हुनबाट जोगिएको छ ।
के भएको थियो सोमबार राति ?
नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–८ मा सुन्दरनगर गाउँ छ । वारी नेपाली बस्ती र पारी भारतीय बस्ती भएको यो गाउँ पुग्न जोगबुढा नदी हुँदै जानुपर्छ । बाबाथान बजारबाट पश्चिम दक्षिणतर्फ सशस्त्र प्रहरीको बिओपी छ भने त्यहाँबाट करिब ४ किलोमिटर पूर्व दक्षिणतर्फ सुन्दरनगर पर्छ । सोमबार दिउँसो सशस्त्र प्रहरीको बिओपी सुन्दरनगर र पारीपट्टी रहेको भारतीय एसएसबीको बिओपीबाट खटिएका अधिकारीहरुले संयुक्त सीमा गस्ती गरेका थिए । साँझ पर्न–पर्न लाग्दा संयुक्त गस्ती सकेर उनीहरु आ–आफ्नो कार्यालय फर्किए । सशस्त्र प्रहरीको बिओपी सुन्दरनगरले चोरी तस्करी नियन्त्रणका लागि नियमित गस्ती गर्दै आएको छ ।
सोमबार साँझ पनि खाना खाएर करिब ६ बजेको समयमा सशस्त्र प्रहरीको बिओपीका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक मानसिंह बिष्टसहितको टोली सुन्दरनगरतर्फ हानियो । पैदल हिँडेर गएका उनीहरु त्यो क्षेत्रमा पुग्दा राति भइसकेको थियो । सुन्दरनगरस्थित सीमा नजिकै नेपाली भूमीमा एसएसबी र सशस्त्रले संयुक्त डिउटी गर्न बनाएको अस्थायी टहरामा खटिएका एसएसबीका जवानहरु पनि फर्किसकेका थिए ।
सात जनाको टोलीमा गस्तीमा निस्किएको सशस्त्र प्रहरी तीन ठाउँमा विभाजित भयो । उनीहरु तीन जनाको एउटा समूह र दुईरदुई जनाको दुई समूह छुट्टाछुट्टै स्थानमा बाँडिएर तस्करको समूहलाई ढुकेर बसे । सशस्त्र प्रहरी भारतीय मेलाघाट बजारबाट अवैध रुपमा सामान तस्करी गरेर ल्याउने मूल बाटोमै उनीहरुलाई ढुकेर बसेको थियो ।
रातिको करिब ८ बजेको समयमा ६ वटा मोटरसाइकलमा अवैध सामान बोकेर तस्करको समूह सुन्दनगर ९नेपाली गाउँ० पुग्यो । चिनी, पीठो लगायतका सामान बोकेर ल्याउँदै गरेको देखेपछि सशस्त्र प्रहरी जवान सुदिप सुनार र सुनिल घिमिरेले मोटरसाइकल रोके । उनीहरुले रोकेर केरकार गर्न मात्र के खोजेका थिए, तस्करी गर्ने मध्येका अर्जुन कुमारसहितका ६र७ जनाले उनीहरुमाथि आक्रमण गरे । तर सशस्त्रका जवानले हात उठाएनन् ।
सुनारमाथि आक्रमण भइरहँदा फुत्केर भाग्न सफल घिमिरेले फोन गरेर अन्य पाँच जनालाई बोलाएपछि आक्रमणकारीहरु अवैध सामानसहित भारततिर भागे । ‘यदि त्यहाँ सशस्त्र प्रहरीले पनि एक्सन लिन खोजेको भए अर्को जुगेडा काण्ड हुने निश्चित थियो, किनकी सशस्त्र प्रहरीका दुई जवानसँग हतियार थिएन,’ स्थानीय बिरबहादुर सुनार भन्छन् । सशस्त्र प्रहरीको स्रोतकाअनुसार पनि उनीहरु दुवै जना जवानसँग घटनाका बेला निःशस्त्र थिए ।
जब सशस्त्र प्रहरीको पक्षमा राति नै गाउँ उठ्यो
हेर्दा सामान्य लाग्ने तर डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथि तस्करको समूहले आक्रमण गर्नुलाई स्थानीयले असामान्य घटना मानेका छन् । सुरक्षाकर्मीमाथि नै हात हाल्ने समूहले सर्वसाधारणलाई बाँकी राख्ला त रु भन्ने प्रश्न सीमा क्षेत्रका स्थानीयले गर्न थालेका छन् ।
भारतीय तस्कर समूहको आक्रमणमा परेका मध्येका सशस्त्र प्रहरीका जवान सुदिप सुनार दोधाराचाँदनीकै स्थानीय हुन् । उनीमाथि तस्करको समूहले आक्रमण गरेको खबर पाउने बित्तिकै सोमबार राति सुन्दनगर गाउँका स्थानीय दशगजा क्षेत्रमा पुगेका थिए । पूरै गाउँ नै उठेर गएपछि सुरक्षाकर्मीलाई सम्हाल्नै हम्मे–हम्मे पर्यो । सुनारमाथि हात हाल्ने व्यक्तिलाई आफूहरुले चिनेकाले पारी सुन्दनगर गएर आफूहरु ल्याउने भन्दै तम्सिए । उनीहरु दशगजामा टायर बालेर प्रदर्शन गर्दै नाराबाजीमा उत्रिए ।
त्यति मात्रै भएन की भारतीय एसएसबीमाथि स्थानीयले हातपात गर्नेसम्म स्थिति सिर्जना भएपछि मालघाटबाट खटाइएका एसएसबीका इन्सपेक्टर झोक्किन थाले । नेपाली सुरक्षा अधिकारीहरुलाई स्थानीय आक्रोशित भएका बेला एसएसबीले एक्सन लिएमा अर्को ठूलो घटना निम्तिने पिर पर्यो । तर बिओपी दोधाराचाँदनीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक किसन बोहरा र बिओपी सुन्दरनगरका सशस्त्र प्रहरी नायब निरीक्षक मानसिंह विष्टले भारतीय एसएसबीलाई संयम हुन आग्रह गरे ।
एकछिनमा पुगेको भारतीय प्रहरीले आक्रमणमा संलग्नलाई मंगलबार बिहान १० बजेसम्म नियन्त्रणमा लिएर कारवाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय शान्त भएका थिए । ‘सशस्त्र प्रहरीले संयमता नअपनाएको भए भारतीय एसएसबीका कारण त्यो दिन अर्को ठूलो दुर्घटना हुने थियो,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने ।
सीमामा सुरक्षाकर्मीमाथि किन हुन्छ पटक–पटक आक्रमण ?
कैलालीमा तस्करको समूहले दुई जना प्रहरीको विभत्स हत्या गरेको घटना र कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि हातपात भएको घटना प्रतिनिधिमुलक मात्र हुन् । कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सुरक्षाकर्मीमाथि पटक–पटक आक्रमणका घटना भएका उदाहरण छन् । कयौं पटक सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमा गोली नै चलाउनु परेको छ । आखिर सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीमाथि पटक–पटक आक्रमण किन हुन्छ त रु
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल यसमा चोरी, तस्करीका अतिरिक्त अन्य कारण पनि देख्छन् । ‘हामीकहाँ सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने क्रम बढ्यो तर त्यो अनुसारको पूर्वाधार निर्माण, जनशक्ति परिचालन र सही मान्छे नखटाउँदा चोरी तस्करीको समस्या बढ्यो,’ मल्ल भन्छन् ।
हाल नेपालबाट भारततर्फ तस्करी हुने सुपारी, मरिच, केराउ जस्ता वस्तु राज्यले आवश्यकता भन्दा बढी आयात गर्नु तस्करीलाई प्रोत्साहन गरेसरह हुने उनी ठान्छन् । ‘यस्ता वस्तुहरु आवश्यकता भन्दा बढी आयात गरेर राज्यले नै तस्करीलाई प्रोत्साहन गरिरहेको छ भन्ने मलाई छ,’ उनले अनलाइनखबरसँग भने, ‘तस्करी नियन्त्रण गर्न अब सरकारले नीतिगत रुपमै लाग्नुपर्ने देखिन्छ । नभएसम्म सीमा क्षेत्रमा समस्या समाधान हुँदैन ।’
अवरोध खडा भएपछि तस्करले देखाएको प्रतिक्रिया- एसएसपी श्रेष्ठ
सशस्त्र प्रहरीका सुदूूरपश्चिम निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेशकुमार श्रेष्ठ भने सुरक्षाकर्मीमाथिको आक्रमणलाई चोरी तस्करी गर्ने समूहले आफ्नो काममा अवरोध खडा भएपछि देखाएको प्रतिक्रियाका रुपमा लिन्छन् ।
सोमबार साँझ कञ्चनपुरमा भएको घटनादेखि बेलाबखत भइरहने अन्य घटनामा पनि सुरक्षाकर्मीले अवरोध सिर्जना गर्दा त्यसको प्रतिक्रिया स्वरुप उनीहरु आक्रमणमा उत्रिने गरेको बताउँदै एसएसपी श्रेष्ठले यसलाई समान्य रुपमा लिनुपर्ने जनाए । ‘अहिले हामीले सीमा क्षेत्रमा चोरी, तस्करी नियन्त्रण गर्न कडाइको नीति लिइरहेका छौं,’ श्रेष्ठले भने, ‘सोहीअनुसार मातहतका कार्यालयलाई पनि निर्देशन दिंदै परिचालन गरेका छौं । तस्करको समूहलाई अवरोध हुँदा उनीहरुले प्रतिक्रिया जनाउँछन् । यसलाई हामीले सामान्य रुपमा लिन्छौं । प्राय दैनिकजसो नेपाल र भारततर्फ यस्ता घटना भइरहन्छन् ।’
तर सामान्य घटनाकै उपज ठूला घटना हुने कुरामा भने गम्भीर रहँदै सोहीअनुसारको सुरक्षा रणनीति अवलम्बन गर्नमा पनि आफूूहरु प्रतिबद्ध रहेको उनी बताउँछन् । यो विषय दुई देशबीचको नभएर चोरी तस्करी गर्ने समूहको भएकाले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा अपराधिक मनोवृत्ति भएका व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने काम भइरहेको श्रेष्ठले बताए ।