मङ्गलबार राति परेको वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन्। भजनी नगरपालिका–३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ।
त्यस्तै जोशीपुर गाउँपालिका–३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन्। कान्द्रा नदीको बाढीले सतह पार गरेको छ भने काढा नदी फुट्दा स्थानीयवासीका घरमा डुबान भएको छ। स्थानीय जयप्रसाद ढुङ्गानाका अनुसार काढा नदीले बाँध फुटाउँदा स्थानीयवासी आउसे दमाइँ लगायतका घरहरू जोखिममा रहेका छन्।
वर्षाका कारण कान्द्रा, पथरैया, काढा, मोहना लगायतका नदीमा पानीको सतह बढेको स्थानीयवासी खेमराज पाण्डेले बताए। “पानीको सतह बढ्दै गएको छ। हामीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिरहेका छौँ। कतिपय ठाउँमा पानीको सतह सडकभन्दा माथि पुगिसकेको छ ”, पाण्डेले भने, “पानीको सतह बढ्दै जाने हो भने सयौँ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको अवस्था आउन सक्छ।”
कान्द्रा नदीमा पानीले सतह पार गरेपछि डुङ्गाको प्रयोग गरिएको छ। स्थानीयवासीलाई आवतजावतका लागि डुङ्गाको मद्दतबाट वारपार गराइँदै आएको स्थानीयवासी राजेन्द्र बोहराले बताए।