सीमामा लुट: सुरक्षाकर्मीका लागि दसैँ खर्च बोकेर फर्कन्छन् नेपाली
2021/09/25, 9:57
 
ss

पश्चिम नेपालका सीमानाका हुँदै नेपाल प्रवेश गर्ने सर्वसाधारणसँग भारतीय सुरक्षाकर्मीले रकम असुल्ने गरेका छन्। दशैंलगायतका चाडपर्व नजिकिएको र भारततर्फ रोजगारीका लागि गएका नेपाली घर फर्किने क्रम बढेसँगै लुटपाट र असुलीका घटनामा पनि वृद्धि भएको हो। 

‘गौरीफण्टा नाका भएर आउने नेपालीहरूबाट नाकामा खटिएका भारतीय प्रहरी र भन्सार कर्मचारीले जबरजस्ती पैसा असुल्न थालेका छन्', भारतबाट फर्किँदै गरेका डोटीका अमर ठगुन्नाले भने, ‘भारतीय सुरक्षाकर्मीले सामान चेकजाँचका नाममा पैसा माग्छन्। नदिनेलाई विभिन्न बहानामा रोकेर पैसा दिन बाध्य नै पारिरहेका छन्। म पनि सय रुपैयाँ दिएर आएको हुँ।’

चाडपर्व मनाउन घर फर्कन लागेका नेपालीमाथि नाकामा भारतीय सुरक्षाकर्मीले खुलेआम असुली गरिरहेको गुनासो बढेको छ।   ‘भारतीय प्रहरी र भन्सार कर्मचारीले व्यक्तिपिछे भारु ५०, सय, २ सय, ५  सयसम्म असुल गर्ने गरेका छन्’, कञ्चनपुरका हिरालाल चौधरीले भने, ‘आफूले लगाउने लुगाफाटो बोकेर आउँदा पनि नाका पार गर्दा पैसा तिर्नु परिरहेको छ।’ 

उनीहरूका अनुसार ठगिने र लुटिने क्रम बस चढेबाटै सुरु हुन्छ। गोदावरीका प्रदीप कुँवर भन्छन्, ‘गौरीफण्टासम्म ल्याउने भने पनि अधिकांश बसले नेपालीलाई गौरीफण्टाबाट करिब ४५ किलोमिटर वरैको पलिया बजारमा छोड्छ, त्यहाँबाट गौरीफण्टा पुग्दा ठगिने र लुटिने सुरु हुन्छ।’ प्रदीपका अनुसार पालियामै नेपालीको सामान चोरिने, लुटिने घटनाहरू भइरहेका छन्।   

प्रशासनकाे पुरानै जवाफ
सीमामा नेपाली लुटिएका बारे प्रशासनले भने खासै चासाे दिएकाे पाइँदैन। यसअघि हरेक वर्ष सीमानाकामा नेपाली लुटिने गरेकाे भए पनि नेपालकाे तर्फबाट पहल हुन नसक्दा भारतीय सुरक्षाकर्मीबाट लुटिनु दशैंमा घर फर्किने नेपालीकाे नियति नै भएकाे छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लुटपाटका घटनाबारे गुनासो प्रशासन कार्यालयमा पनि प्राप्त भएको बताउँछन्। ‘नाका अहिले कञ्चनपुरको स्वामित्वमा पर्छ, तर पनि हामीले भारतीय प्रशासनसँग समन्वयको प्रयास गरिरहेका छौँ’, रिजालले भने, ‘यो विषयमा हामी गम्भीर छौँ, भारतीय प्रशासनसँगको छलफलपछि आवश्यक कदम चाल्छौँ।’

आउने जानेको लर्को
हाल चाडपर्व नजिकिएसँगै कैलाली–कञ्चनपुरको सीमाना त्रिनगर नाका हुँदै रोजगारीका लागी भारत जाने र फर्किनेको लर्को छ।  त्रिनगर नाकाका हेल्प डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार भदौ ३० देखि हालसम्म २ हजार २ सय २० जना रोजगारीको खोजीमा भारत गएका छन्। ‘दैनिक औसत २२५ जना भन्दा बढी नेपाली रोजगारीका लागि भारत गइरहेका छन्’, ठकुल्लाले उकेरासँग भने।

यस्तै दशैं नजिकिएसँगै भारतबाट नेपाल फर्कने नेपालीको सङ्ख्या पनि बढ्न थालेको छ। त्रिनगर भन्सार नाका हुँदै भदौ ३० देखि असोज ६ गतेसम्म ४ हजार ४ सय ५ जना नेपाल आएका इन्चार्ज ठकुल्लाले बताए। 

बेरोजगारीले बारम्बार भारत जान बाध्य बनाउँछ
दशैं मनाउन घर फर्किरहेका टिकापुरका गणेश बडवालको मुहारमा थकानसहितको उमंग थियो। ‘निकै कष्टपूर्ण यात्रा झेल्दै आफ्नो भूमिमा आइयो, दशैं तिहार परिवारसँगै मनाउन आएको, नेपालमै रोजगारी पाएको भए भारत जाने नै थिएन’, उनले भने।   यता कैलालीको घोडाघोडी नगरपालिका–९ का कमल थापा भने शुक्रबार रोजगारीका लागि भारत जान त्रिनगर नाका पुगेका थिए। उनीसँगै थिए– श्रीमती र ५ वर्षीया छोरी पनि। 

‘चाडपर्व नजिकियो महँगी बढ्दो छ। हामी गरिबहरूले कसरी मनाउने? घरमा छाक टार्नै मुस्किल भयो, त्यसैले भारत हिँडेको’, उनले भने, ‘ऋण धेरै छ। हाम्रा लागि दशैं तिहार ठूलो होइन, कमाइ भयो भने उतै मनाउँला चाडपर्व।’  उनी १० वर्षयता भारतमै काम गर्दै आएका छन्। श्रीमती र छोरीका साथ भारत पसेपछि यता उनको घरमा आमा, बुवा र छोरा छन्।  यी त हरेक दिन नाकामा भेटिने प्रतिनिधि मात्र हुन्। त्रिनगरसहित देशैभरका नाकामा अहिले भारततर्फ आउने जानेको लर्काे भेटिन्छ।