संघीय सरकारका कारण सुदूरपश्चिममा कोरोना फैलिएको मुख्यमन्त्री भट्टको आरोप
2020/06/14, 1:07
 
cm news

मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारको गलत नीतिका कारण सुदूर पश्चिममा कोरोनाको संक्रमण फैलिएको आरोप लगाएका छन् । युएनडिपीको टीमलाई लिएर आएका संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहितको छलफलमा मुख्यमन्त्री भट्टले संघीय सरकारले समयमै भारतमा रहेका नेपालीहरुलाई उद्दारमा पहल नगर्दा सुदूरपश्चिममा कोरोनाको संक्रमण फैलिएको बताए ।

शुरुमा दुई लाख मान्छे भित्रिदा दुईजनामा मात्र कोरोनाको संक्रमण पाइएको थियो, त्यतिबेला नै अरु नेपालीलाई आउन दिएको भए यो अवस्था नै आउने थिएन, मुख्यमन्त्री भट्टले भने, एल्लो जोनमा रहेको सुदूरपश्चिम संघीय सरकारको गलत नीतिका कारण रेड जोनमा परेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पनि संघीय सरकारका कारण सुदूरपश्चिममा कोरोनाको संक्रमण फैलिएको बताए ।

मुख्यमन्त्री भट्टले झै आन्तरिक मामिला मन्त्री शाहले पनि एल्लो जोनमा रहेको सुदूरपश्चिम संघीय सरकारको गलत नीतिका कारण रेड जोनमा परेको आरोप लगाए । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि संघीय सरकारले सहयोग नगर्दा सुदूरपश्चिममा कोरोना फैलिएको आरोप लगाए । युएन अहिलेसम्म कहाँ थियो, मन्त्री सुवेदीले युएनडिपीका प्रतिनिधिलाई प्रश्न गर्दै भने, ढिलै भएपनि युएन आएकोमा खुशी छौ ।

मन्त्री सुवेदीले डब्लुएचओ, डब्लुएफपी, युएनडिपी, युनिसेफ, र युएनएनएफीए पनि युन एनकै अंग हो भनेर नबुझ्दा यसो भनेको बैठकमा सहभागी एक जनाले बताए । जवकी डब्लुएचओले डेढ वर्षदेखि सामाजिक विकास मन्त्रालयको भुईतलामा कार्यालय राखेर काम गरिरहेको छ ।

डब्लुएफपी, युएनडिपी, युनिसेफ, र युएनएनएफीएले पनि सहयोग गर्दै आएका छन् । मन्त्री सुवेदीले छलफलको विषयभन्दा बाहिर गएर लामो समय लिन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट र मुख्यमन्त्री भट्टले उनलाई बोल्न रोकेको थिए ।