कञ्चनपुरको लालझाँडी गाउँपालिकामा नमूना संकलन पछि रिपोर्ट नआउदै घर पठाइएका मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर लालझाँडी गाउँपालिका–४ स्थित स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ११ जनालाई जेठ ३० गते घर पठाइएको हो । ती ११ जनामा नै शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार कञ्चनपुरमा २१ जनामा कोरोना संक्रमित थपिएका थिए । तीमध्ये १४ जना मात्रै लालझाँडी गाउँपालिकाका छन ।
स्वाब संकलनपछि ११ जनालाई घर पठाइएको लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले स्विकारे । ‘हामीहरु भागेर जान्छौँ, यहाँ राखेर के गर्नुहुन्छ भन्दै द्धन्द्ध नै गर्नु आउनुभयो त्यसैले वडाध्यक्ष, सुरक्षाकर्मीहरुहरुको सहमतिमा सेल्फ क्वारेन्टिनमा बस्ने गरी छाडिएको हो । अहिले उहाँहरुलाई फेरी क्वारेन्टिनमा ल्याउने तयारी भइरहेको छ ।’ पीसीआर रिपोर्ट आउनमा ढिलाई हुँदा समेत समस्या भएको उनले बताए ।
‘७, ८ दिन अगाडी नमूना संकलन गरी पठाइएको थियो, रिपोर्ट आउन ढिलाभयो, त्यसमा उहाँहरु आक्रोस पोख्न थाले ।’ अध्यक्ष बडायकले भने। जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको लापरबाहीले स्वाब संकलन पछि रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाईएपछि कोरोना समुदाय स्तरमा फैलिने खतरा बढेको छ । लालझाँडी गाउँपालिका–४ को स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टिन व्यवस्थित नहुँदा क्वारेन्टिनभित्र भित्रै कोरोना संक्रमण फैलिन थालेको हो । लालझाँडी गाउँपालिकाका १४ जना संक्रमितलाई अस्पताल राख्ने तयारी भईरहेको छ ।