कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली उप प्रादेशिक अस्पतालले कोरोना संक्रमित व्यक्तीहरू मध्ये आइसोलेशनमा भर्ना भएका ४ जनालाई निको नहुँदै घर पठाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिनसम्म आइसोलेशनमा बसेका तर संक्रमित भएपनि कुनै लक्षण नदेखिएका ४ जना व्यक्तिहरूलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताए ।
संक्रमितहरु बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाले नै १४ दिन कटाएर लक्षण नदेखिएकालाई पठाउन भनेकोले उनीलाई डिस्चार्ज गरिएको डाक्टर श्रेष्ठले जानकारी दिए । संक्रमित देखिएपछि अस्पतालको आइसोलेशनमा राखिएको तर त्यसपछि उहाँहरूको पीसिआर परीक्षण नगरिएको बताईएको छ ।
अस्पतालले आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिका एक एक जना तथा काठमाडौँ उपत्यकाको कागेश्वरी नगरपालिकाका २ जना गरी ४ जनालाई १४ दिन कटेको र कुनै लक्षण पनि नदेखिएको भन्दै डिस्चार्ज गरेको हो । उहाँहरूलाई अबको दुई हप्तासम्म होम क्वारेन्टिन वा आइसोलेशनमा बस्न, अरुसँग घुलमिल नहुन, पौष्टिक खानेकुरा खान र चिकित्सकको नियमित सम्पर्कमा रहन भनी सम्झाई बुझाई घर पठाइएको डाक्टर श्रेष्ठको भनाई छ ।