अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गयाे
2021/10/02, 11:39
 
dd

अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएकाे छ ।  अछामको तुर्माखाँद गाउँपालिका-१ रहफ‍की पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ । 

बिहीवार राति ८ बजे प्रसव पीडा भएपछि रहफ स्वास्थ्य चौकी लगिए पनि विकको हिजाे बिहान ५ बजे ज्यान गएकाे स्वास्थ्य चौकीकी अनमी गीता लम्सालले बताए ।  घरमा व्यथा लागेपछि विकलाई स्वास्थ्यचौकी लगिएको थियाे । उहाँकाे रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा ज्यान गएकाे स्वास्थ्य चौकी रहफले जनाएको छ । भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उहाँको ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए । 

यसअघि गम्भीर समस्या भए लगत्तै गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिँदै आएकाे भए पनि समयमै जानकारी नभएकाले विकलाई बचाउन नसकिएको मल्लले बताए । अछामकै विकट मानिएको तुर्माखाँद गाउँपालिकाका बस्तीहरुमा यातायातको सुविधाको नभएका कारण पटक पटक यस्ता घटनाहरु ‍दाेहाेरिने गरेका छन् ।