चाँडपर्वका लागि घर फर्किनेको चाप बढेसंगै नाकामा चेकजाँचका लागि कुकुर परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिलि’ नामको कुकुर परिचालन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले दशैं तिहार सुरक्षा योजना अन्तरगत नाकामा कुकुर परिचालन गरिएको बताए । ‘पटाका लगायत विस्फोटक पदार्थ र लागु औषधको ओसारपसार रोक्न कुकुर परिचालन गरिएको हो,’ उनले भने, ‘नियमित चेकजाँच पनि चलिरहन्छ ।’
न्यौपानेका अनुसार लिलि दुई/तीन दिन नियमित रुपमा नाकामा रहन्छ । त्यसपछि पनि आकस्मिक रुपमा परिचालन गरिनेछ । जिल्ला प्रहरी कार्यालयले आजैदेखि दशै तिहार सुरक्षा योजना समेत लागु गरेको छ ।
गस्ती र चेकजाँच बढाउनुका साथै सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको डिएसपी न्यौपानेले बताए । उनका अनुसार अहिले सामान्य अवस्थाभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयबाट सुरक्षाकर्मी थप भएको छ । आजदेखि छठ पर्व सकिदा सम्मद दशैं तिहार सुरक्षा योजना लागु रहनेछ ।