सुदूरपश्चिममा स्वाब संकलनको काम तीव्र गतिमा
 
korona

सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिनयता तीव्र रुपमा स्वाब सङ्कलन गर्ने कार्य सुरु भएको छ । भारतबाट फर्किएर यहाँका नौवटै जिल्लाको क्वरेण्टीनमा राखिएका ६५ हजार नौ सय ९१ जनाको स्वाब सङ्कलन गर्ने कार्य तीव्ररुपमा सञ्चालन भइरहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । स्वाब सङ्कलन फेरि सञ्चालन भएसँगै अहिले समग्र सुदूरपश्चिम प्रदेशमा एक हजारभन्दा बढीको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले स्वाब सङ्कलन गर्नु भन्ने पत्र पठाएपछि समग्र सुदूरपश्चिममा स्वाब सङ्कलन गर्ने कार्य तीव्ररुपमा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको एक मात्र धनगढी प्रयोगशालामा सङ्कलित स्वाबको चाप बढेपछि निर्देशनालयले पाँच दिनको लागि स्वाब सङ्कलनमा रोक लगाएको थियो । प्रयोगशालाले दैनिक दुई सय ५० जनाको मात्र परीक्षण गर्न सक्ने जनाउँदै एक हजारभन्दा बढी नमुना मौज्दात रहेको भन्दै स्वाब सङ्कलन बन्द गर्न आफू मातहतका सबै निकायलाई परिपत्र गरेको थियो ।  

क्वरेण्टीनमा बसी आरडीटी पोजिटिभ देखिएका र कोरोनाको शङ्कास्पद लक्षण देखिएका नागरिकको स्वाब सङ्कलन गर्नको लागि जिल्ला स्वास्थ्य कार्यालयले निजी अस्पतालको सहयोगमा स्वास्थ्यकर्मीको टोली खटाइ स्वाब सङ्कलन गर्न थालेको जिल्ला अस्पताल डोटीका डाक्टर ज्योती पाण्डेले बताईन् । उनले भनिन्, ’हामीले आरडीटी पोजिटिभ देखिएका र कोरोनाको शङ्कास्पद लक्षण देखिएका केही व्यक्तिको पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गर्ने कार्य सुरु गरेका छौँ  स्वाब सङ्कलन गर्ने कार्य निरन्तर चल्ने छ ।’

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार भारतबाट फर्किएका जिल्लाका विभिन्न क्वरेण्टीनमा राखिएका एक सय तीन जना महिला र आठ सय १८ पुरुष गरी कुल नौ सय २१ जनाको पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गरी कैलालीमा रहेको धनगढी प्रयोगशालामा पठाइएको छ । त्यसैगरी पाँच हजार चार सय ४९ जना पुरुष तथा ६ सय ३० जना महिला गरी कुल ६ हजार ७९ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये दुई सय पाँच  जनामा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा पीसीआर परिक्षणको लागि स्वाब सङ्कलन गर्ने कार्य सुरु गरेपछि यहाँका क्वरेण्टीनमा बसेका नागरिकहरु निकै खुसी भएको केआइसिंह गाउँपालिका ५ का स्थानीय गणेश जोशीले बताए ।

उनले भने, ’स्वाब सङ्कलन रोकिएपछि हप्तोदेखि क्वरेण्टीनमा बसेका नागरिक निराश थिए, अहिले पुनः स्वाब सङ्कलन गर्न सुरु गरिएपछि उनीहरुमा खुसियाली छाएको छ ।’  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार भारतबाट गएको एक महिनामा भारतबाट सुदूरपश्चिममा ६५  हजार नौ सय ९१ जना भित्रिएका छन् । उनीहरुमध्ये ५५ हजार सात सय ३० जना पुरुष र १० हजार दुई सय ६१ जना महिला रहेका छन् । 

उनका अनुसार कैलालीमा सबैभन्दा बढी २१ हजार चार सय ५४ जना, कञ्चनपुरमा सात हजार दुई सय ४० तथा डोटीमा १० हजार चार सय जना रहेका छन् । त्यसैगरी अछाममा आठ हजार एक सय ४५ जना, बैतडीमा पाँच हजार चार सय ५७ जना, डडेल्धुरामा चार हजार चार सय १० जना, बझाङमा तीन हजार एक सय ४४ जना, बाजुरामा पाँच हजार दुई सय २३ जना, दार्चुलामा एक हजार पाँच सय १८ जना रहेका छन् ।