कञ्चनपुरको सीमावर्ती बजार दुई वर्षदेखि सुनसान
2021/10/06, 11:26
 
ss

 कोभिड–१९ को संक्रमणसँगै सुनसान बनेको टनकपुर ब्यारेज नजिकैको ब्रह्मदेव बजार अझै लयमा फर्कन सकेको छैन । कोभिडअघि प्राय सधैं भीडभाड रहने यो बजार झन्डै दुई वर्षदेखि सुनसान छ । 

भारतीय नागरिककै भरमा चलेको बजारमा कुनै चहल पहल नभएपछि पछिल्लो समय व्यापार व्यवसाय ठप्प छ । जसका कारण यहाँका व्यवासायी पलायन हुन थालेका छन् । विगतका वर्षहरूमा बजारमा चैते दसैं र असोजको बडादसैंको नवरात्रिमा भारतीय दर्शनार्थीको घुइँचो लाग्थ्यो । त्यसका साथै पूर्णागिरी मेलाका बेला पनि बजारमा निकै चहलपहल हुने गर्थ्यो । तर ०७६ चैतदेखि भने व्यवसायीहरू ग्राहकको प्रतीक्षामा बसेका छन् ।

‘डेढ वर्षभन्दा बढी भयो, हामीहरू ग्राहक कुरेर बसेका छौं,’ दुई दशकदेखि ब्रह्मदेवमा व्यवसाय गर्दै आएका कर्णबहादुर चन्दले भने, ‘नत ग्राहक आउँछन्, न कुनै राहत पाइन्छ ।’ संक्रमणकालमा व्यापारीलाई कर छुटदेखि भाडामासमेत छुट दिइएको छ । तर यहाँका व्यवसायीले व्यावसायिक करमा २५ प्रतिशतबाहेक अरू कुनै छुट पाएनन् ।

चैते दसैं र बडादसैंमा ब्रह्मदेवका व्यवसायीले एकै दिन लाखौंको कारोबार गर्थे । चैते दसैंको नवरात्रिमा लाग्ने पूर्णागिरीकै मेलाका भरमा यहाँका व्यवसायीहरू वर्षभरिको जोहो गर्थे । तर झन्डै दुई वर्षदेखि कारोबार सबै ठप्प भएपछि उनीहरू व्यापार व्यवसायप्रति नै निराश देखिन्छन् । ‘मेलाका बेला चल्ने व्यापारले परिवार धानेका थियौं, दुई वर्षदेखि सबै ठप्प छ,’ ब्रह्मदेवमा दुई दशकदेखि व्यवसाय गर्दै आएका कमलसिंह विष्टले भने, ‘मेला चलेको छैन, व्यापार ठप्प छ ।’

कोभिड–१९ को संक्रमणका कारण २०७६ चैतदेखि नाका बन्द भएको थियो । त्यतिबेलादेखि नै भारतीय नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरियो । पछिल्लो पटक नेपाल–भारत सीमाका सबै नाका खुला गर्ने निर्णय गरेसँगै फाटफुट दर्शनार्थी आउन थालेका छन् । ‘दिनमा १०/१२ जना दर्शनार्थी आउँछन्, तिनकै भरमा व्यापार व्यवसाय चलेको छ,’ विष्टले भने, ‘अब नवरात्रिमा दर्शनार्थीको भीड बढ्छ भन्ने आसमा छौं ।’ यसै सातादेखि सुरु हुने नवरात्रिमा भारतीय दर्शनार्थीको भीड बढ्ने उनले आशा व्यक्त गरे ।

ब्रह्मदेवमा करिब अढाई सयले व्यापार व्यवसाय गरिरहेका छन् । तर पछिल्लो समय तीमध्ये केही पलायन भइसकेका छन् । ‘१२ जनाभन्दा बढी व्यवसायी पलायन भइसकेका छन्,’ बुबाकै पालादेखि व्यवसाय सुरु गरेका दीपक रावलले भने, ‘हामी पनि त्यतिकै कुरेर बसेका छौं ।’ ब्रह्मदेव छाडेकामध्ये केहीले अन्यत्र गएर व्यवसाय सुरु गरेका रावलले जनाए ।