देशभर ६ लाख गरिब परिवार सूचीकृत, बाजुरामा सबैभन्दा धेरै
2021/10/06, 12:02
 
sada

सरकारले ५३ जिल्लामा ६ लाख १२ हजार ७ सय ७२ परिवारलाई गरिबको सूचीमा सूचीकृत गरेको छ। भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार दुई चरणमा गरी उक्त परिवार गरिब भएको पहिचान गरेको हो।

मन्त्रालयका अनुसार गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७० मा आधारित भएर पीएमटी विधिबाट पहिलो चरणमा २६ जिल्लामा गरिब घरपरिवारको पहिचान भएको हो। मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार पहिलो चरणमा २६ जिल्लामा १२ लाख २४ हजार ४ सय १७ घरपरिवारमा गरिएको सर्वेक्षणमा ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवार गरिब पहिचान भएका हुन्।

गरिब परपरिवारमध्ये १ लाख ८८ हजार २ सय ३२ अतिगरिब, १ लाख १९ हजार ७ सय ५४ मध्यमगरिब ८३ हजार ८ सय ४५ परिवार सामान्य गरिब भएको मन्त्रालयले जनाएको छ। बाजुरामा सबैभन्दा धेरै गरिब परिवार पहिचान भएका छन्। जिल्लाका २१ हजार ७ सय ११ घरपरिवारमा गरिएको सर्वेक्षणमा गर्दा १३ हजार ६ सय १९ गरिब घरपरिवार पहिचान भएका हुन् । यहाँ ६ हजार ३ सय ९३ घरपरिवार अतिगरिब, ४ हजार २ सय २८ घरपरिवार मध्यम गरिब र २ हजार ९ सय ९८ घरपरिवार सामान्य गरिब पहिचान भएका हुन्।

त्यस्तै कालिकोटमा १२ हजार ४ सय ३३ गरिब घरपरिवार पहिचन भएका हुन् भने हुम्लामा ४ हजार ५ सय ६० गरिब घरपरिवार पहिचान भएका हुन्। कालिकोटमा अति गरिब ५ हजार ८ सय ७७, मध्यम गरिब ३ हजार ८ सय ७२ र सामान्य गरिब २ हजार ६ सय ८४ रहेका छन्। हुम्लामा भने २ हजार १ सय ९ घरपरिवार अति गरिब, १ हजार ४ सय २० मध्यम गरिब र १ हजार ३१ घरपरिवार सामान्य गरिब रहेका छन्।