कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ। मेट्रिक विधिबाट घरलगायतका संरचनाको नम्बरिङ सुरु गरेको हो।
बिहीबार एक कार्यक्रमबीच भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले मेट्रिक घर नम्बर राख्ने काम सुरु भएको बताए। ‘नगरपालिकालाई नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि सहयोग हुन्छ,’ मेयर विष्टले भने, ‘यो विधिबाट सबै वडाहरूमा सडक र घर नम्बरिङ गर्छौँ।’
नगरको एकीकृत दिगो विकास र समृद्धिका लागि नगरपालिकाले थुप्रै योजना अघि सारेको बताउँदै मेयर विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने बताए।
आइडिसीका लिमलिडर थम्बराज श्रेष्ठले हरेक घरको जानकारी नगरपालिकालाई हुने बताए। ‘यो विधिबाट नागरिक र नगरपालिका दुवैलाई फाइदा हुन्छ,’ उनले भने, ‘पालिका र जनताको सम्बन्ध विस्तार पनि हुन्छ।’
मूल सडकदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिने उनले बताए। यसबाट सेवा सुविधालगायत सुझाब संकलन एवं अन्य विविध क्षेत्रका कामकाज सहजताका लागि सुविधा हुने उनले बताए।