कृष्णपुर नगरपालिका-१ दोमिल्लाकी ५० वर्षीया कलावती खत्री आफ्नो आँखाको ज्योति ६ वर्षपछि पुनः फर्किएपछि निक्कै खुसी छन्। मोतिया बिन्दु भएपछि उनले दुवै आँखाको ज्योति गुमाएकी थिइन्।
आँखाको उपचारका लागि धेरै पटक अस्पताल पुगे पनि आर्थिक अभावले घर फर्किएकी कलावतीको नागरिक सुशासन समाज कञ्चनपुरको पहलमा दाताहरुबाट रकम जुटाई दुवै आँखाको शल्यक्रिया भएको हो। ‘आँखाको उपचारका लागि अस्पतालसम्म नपुगेको होइन‚’ उनले भनिन्‚ ‘शुःल्क तिर्न नसक्दा वर्षौंसम्म अन्धकारमै बस्न बाध्य भएँ।’
नागरिक सुशासन समाजको सहयोगमा आँखाको शल्यक्रिया भएपछि अहिले उनले दुवै आँखाले देख्न थालेकी छन्। आर्थिक सहयोग जुटाई आँखाको शल्यक्रिया गरी पुनर्जीवन प्राप्त गर्न सहयोग गर्नेहरूको प्रशंसा गर्न उनी थाक्दिनन्। ‘पहिला झै देख्न थालेको छु‚’ उनले भनिन्, ‘संसार देख्ने अवसर पाएँ। निक्कै खुसी छु।’
डेढ कट्ठा जग्गामा झोपडी बनाई बस्दै आएका खत्री परिवारका स–साना चार छोराछोरी छन। कलावतीका श्रीमान पनि शारीरिक रूपमा अशक्त छन्। कलावतीले पनि दुवै आँखा नदेख्ने भएपछि उनीहरुको परिवार चलाउन कठिन भएको थियो। उनका श्रीमानले अधियामा प्लाष्टिका बोरी ल्याई त्यसबाट डोरी बनाई बेचेर नुन तेल खर्च जुटाउने गरेका थिए। लुगाफाटो र साँझ विहानको खानाका लागि छिमेकीसँग हात फैलाउनु पर्ने खत्री परिवारको बाध्यता रहेको छ।
दुवै आँखाले पुनः देख्न थालेपछि अब मजदुरी गरेर भए पनि परिवार पाल्न कलावतीले बताउँछिन्। ‘दुवै आँखा पहिलाझै देख्ने भएको छु। मजदुरी गरेर भए पनि परिवारका लागि साँझ विहानको छाक टार्न सकिने भएको छ‚’ उनले भनिन्‚ ‘६ वर्षअघि जस्तै सबैलाई चिन्न सक्ने भएको छु। आँखा नदेख्ने भएपछि पुरै संसार मेरा लागि अँध्यारो थियो। अव उज्यालो नै उज्यालो भएको छ।।’
नागरिक सुशासन समाज कञ्चनपुरका अध्यक्ष वीरबहादुर बोहराले समाजमा रहेका असहाय, गरिव र विपन्नहरुलाई सहयोग गर्नु मानवीय पुण्यको काम भएको बताउँछन्। उनले भने‚ ‘समाजमा विद्यमान संघ संस्था र जनप्रतिनिधिहरुको पहिलो कर्तव्य भए पनि कुनै पनि निकायले कलावतीको अवस्थालाई नहेर्दा दाताहरुको सहयोगमा आँखाको शल्यक्रिया गर्नमा सघाउ पुर्याएका छौं।’
वडादेखि नगरपालिका र प्रदेशदेखि केन्द्रसम्म जनताको दुःख–सुख हेर्नका लागि जनप्रतिनिधि रहेका छन्। जनप्रतिनिधि भएको अवस्थामा समेत नागरिकले पीडा सहेर बस्नु विडम्बना भएको उनको भनाइ रहेको छ।
समाजकै पहलमा कृष्णपुर नगरपालिका–१ दोमिल्लाकै चार विपन्न परिवारको खरको छानोमा जस्तापाता राख्न सहयोग गरिएको छ। यसैगरी, शुक्लाफाँटा नगरपालिका १० झलारीका ६० वर्षीय जनकलाल डगौराको समेत समाजको पहलमा मोतिया विन्दुको आँखाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइदिएको छ।