सेती प्रादेशिक अस्पताल सुदूूरपश्चिम प्रदेशकै उपचारको प्रमुख केन्द्र हो । यो अस्पतालमा कैलाली र कञ्चनपुरका साथै दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ र बाजुुराका मानिस उपचारका लागि आइपुग्छन् ।
१९९७ सालमा कैलाली अस्पतालको नाममा स्थापना भएको अस्पताल अञ्चल हुँदै हाल प्रादेशिक अस्पताल बनेको छ । २८ लाख प्रदेशबासीको जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो अस्पतालले १५ शय्याबाट सेवा शुरु गरेकामा २०४० सालमा स्तरोन्नति भएर ५० शय्याको बनेको थियो । आन्तरिक स्रोतबाट ७५ शय्या थप गरेर १२५ शय्यामा सञ्चालन भइरहेको अस्पतालले बिरामी संख्या बढ्दै गएपछि फेरि शय्या संख्या थपेर २४० पुर्याएको छ ।
प्रदेशमा मुटु रोगको उपचार गर्ने र क्यान्सर रोगको पहिचान गर्ने यो एकमात्र अस्पताल हो । सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार इको (मुुटुको रंगीन भिडियो एक्सरे) सेवा, क्यान्सर, डायबिटिज र ल्याबतर्फ पनि विशेषज्ञ सेवा सुरु गरिएको छ । क्यान्सर रोग लागेको पत्ता लगाउने सुदूरपश्चिम प्रदेशको यो एकमात्र अस्पताल हो । दन्त रोगसम्बन्धी विशेषज्ञ सेवा, एनआईसीयू र पीसीयू सेवाको विस्तार, इन्डोस्कोपी सेवा, कोलोनोस्कोपी सेवा (आन्द्राको चेकजाँच), मेरुदण्डको जनरल सर्जरी सेवा समेत अस्पतालले दिँदै आएको छ ।
हालको पाँच शय्यााको आईसीयूूलाई १५ शय्यामा विस्तार गर्ने योजना रहेको छ । अस्पतालले सिटीस्क्यान र एमआरआई सेवा पनि सञ्चालन गर्ने जनाएको छ । दुवै मेसिन खरिदका लागि ठेक्का सम्झौता भइसकेपनि भौतिक संरचना निर्माण भइरहेकाले केही ढिलाइ भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।अस्पतालले भौतिक संरचनाको सुधार, अत्याधुुनिक उपकरण थपेर फिजियोथेरापी सेवा थप विस्तार गरेको छ । एक लाख लिटर क्षमताको नयाँ भूमिगत पानी ट्याङ्की जडान, भीभीआईपीका लागि चार बेडको क्याविन निर्माण, ढल निकास विस्तार, पार्किङ स्थल निर्माणका काम समेत गरिएको अस्पतालले जनाएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कसमेत जडान गरेर सञ्चालनमा ल्याएको छ ।
जनशक्ति पनि थपियो
वर्षौंदेखि दरबन्दीअनुसार जनशक्ति नपाएको प्रादेशिक अस्पतालमा सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक थपिएका छन् । प्रादेशिक अस्पताललमा अहिले ४१ जना विशेषज्ञ चिकित्सक र २४ जना मेडिकल अधिकृत कार्यरत छन् । उनीहरुमध्ये ११ जना विशेषज्ञ चिकित्सक र तीन जना मेडिकल अधिकृत दरबन्दीमा अरु निजी स्रोत तथा नेपाल सरकारका विभिन्न कार्यक्रम मार्फत राखिएको अस्पतालले जनाएको छ । नर्सिङतर्फ २२ जना स्थायी र अरु करारमा गरी डेढ सय जना कार्यरत छन् ।
अस्पतालका अनुसार ल्याब लगायतका विभिन्न विभागमा समेत गरेर हाल चार सय जना कर्मचारी रहेका छन् । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जनशक्ति थपिएपछि सेवा प्रवाहमा विगतको तुलनामा सहज भएको बताए । ‘हामीले सबैको सकारात्मक साथ, सहयोगका कारण प्रादेशिक अस्पतालको सेवा विस्तारसँगै जनशक्ति व्यवस्थापन पनि गरेका छौँ,’ पाण्डेले भने, ‘विशेषज्ञ चिकित्सकहरुको संख्या वृद्धि भएकाले अहिले विगतको भन्दा सेवा प्रवाहमा निकै सहज भएको छ ।’ पाण्डे ३० साउन २०७५ देखि प्रादेशिक अस्पतालको सुपरिटेन्डेन्टको जिम्मेवारीमा छन् ।