‘धामीका हत्यारालाई छिट्टै कानूनी दायरामा ल्याउँछौं’
2021/10/10, 9:56
 
ss

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अस्मिता धामीका हत्यारालाई छिट्टै कानूनी दायरामा ल्याउने बताएका छन् ।सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले धामी हत्या घटनाको प्राथमिकताकासाथ अनुसन्धान भइरहेकाले छिट्टै हत्यारालाई कानूनी कठ्घरामा उभ्याइने बताएका हुन ।

जोगबुढाकी २६ वर्षीया धामीको गत असार २ गते सामुदायिक वनमा शव भेटिएको थियो । उनी परशुराम नगरपालिका–७ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् । घटनाको चार महिना पुग्दासमेत प्रहरीले अझै दोषी पत्ता लगाउन सकेको छैन । 

घटना भएको लामो समयसम्म दोषी पत्ता लगाउन प्रशासनले वास्ता नगरेको भन्दै पीडित धामीका आफन्तहरुले इलाका प्रशासन कार्यालयमा केही समय पहिले तालाबन्दी समेत गरेका थिए ।  दोस्रो पटक डडेल्धुरा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका प्रमुख जिल्ला अधिकारी जोशीले संचारकर्मीहरुसँग भेटघाट गर्दै धामी हत्याको वास्तविक अनुसन्धान गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउने पहिलो प्राथमिकता रहेको बताए । 

बैतडीको भागरथी भट्ट हत्या प्रकरणको समयमा बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा जोशी नै थिए । उनको पालामा भागरथीको हत्यारा पत्ता लागेको थियो ।