दसैँपछि धनगढीमा माग अनुसारको मात्रै अटो रिक्सा चल्छन्: वड
2021/10/10, 4:04
 
dd

धनगढीमा भएका अस्तव्यस्त अटो तथा ई-रिक्सालाई दसैँ लगत्तै व्यवस्थापन गर्ने धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वडले बताएका छन् । एफएमडिसीको १९ औ स्थापना दिवसको अवसरमा गरिएको ‘जहाँ समस्या त्यहाँ उपाय’ कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

अहिले धनगढी उपमहानगरपालिमा झन्डै साढे ४ हजार ई-रिक्सा रहेको बताउँदै उनले दसैँ लगत्तै धनगढी उपमहानगरपालिकालाई आवश्यक पर्ने अटो रिक्सा मात्रै चल्न दिने बताए । धनगढी उपमहानगरपालिकाले ९ सय मात्रै अटो रिक्सा सिफारिस गरिएको भए पनि यहाँ भने अहिले साढे ४ हजार अटो रिक्सा चल्दै आएको वडले बताए ।

“हामीले सिफारिस गरेको ई-रिक्सा ९ सय ७२ मात्रै हो,” उनले भने, “तर अहिले यहाँ ८८ वटै स्थानीय तहका नामबाट अटोरिक्साहरू चलिरहेका छन् । अबको दसैँ लगत्तै हामी बाँकी अटो रिक्सालाई यहाँबाट विस्थापित गर्छौ । त्यसमा म आफै स्वयम यो अभियानमा अघि बढ्छु ।,”

धनगढीमा अहिले बढ्दो अटोरिक्साका कारण उपमहानगरपालिकाले ठुलो समस्या खेप्नु परेको बताए । उनले अटो रिक्सा दर्ता गर्ने कार्य बन्द गरिदिन पनि प्रदेश सरकारलाई आग्रह गरे । प्रदेश सरकारले अटो दर्ता बन्द गर्ने हो भने मात्रै यसको समाधान गर्न सकिने उनको भनाई छ । आफूले प्रदेश सरकारसँग आग्रह गरिरहेको भए पनि प्रदेश सरकारले यसबारे कुनै चाँसो नदिएको बताए ।

“मैले प्रदेश सरकारसँग बारम्बार यसबारे छलफल गरिरहेको छु । मैले केही दिन अघि मात्रै अर्थमन्त्री संग मन्त्री सँग छलफल गरेको थिए, भौतिक विकासमन्त्रीसंग पनि छलफल गर्ने तयारीमा छु । दसैँ लगत्तै यसलाई समाधान गर्नुपर्छ भनेर हामी अघि बढिरहेका छौ, तर प्रदेश सरकारले त्यो गर्न मानिरहेको छैन्,” उनले भने । अव्यवस्थित अटो रिक्साका कारण धनगढी बजारमा दुर्घटनाको समेत जोखिम बढ्दै गइरहेको मेयर वडले बताए । 

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा बढ्दौ अटो रिक्साका कारण ट्राफिक जाम समेत हुने गरेको छ ।  धनगढी उप–महानगरपालिको मुख्य सडक क्षेत्रमा ट्राफिक जाम बढेपछि आम सर्वसाधरणले हैरानी खेप्नुपरेको छ । विशेष गरी उपमहानगरपालिको मुख्य सडक क्षेत्र एलएन चोक, पार्कमोड र चौराहा देखि बसपार्क सम्मको क्षेत्रमा सर्वसाधरणलले समस्या झल्दै आएका छन् ।