लागुऔषधको दलदलमा फस्दै युवा पुस्ता
2021/10/11, 9:28
 
dd

कैलाली प्रहरीले असोज २१ गते नौ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित एक महिलालाई पक्राउ ग¥यो । उनी, अजयमेरु गाउँपालिका–४ की ३६ वर्षीया आशा विष्ट थिइन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा डेरा गरेर बस्दै आएकी उनलाई प्रहरीले त्यहीबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेकी ती महिला सम्भतः लागुऔषधको कारोबारी हुन । उनको साथबाट प्रहरीले चरेश र केही नगदसमेत बरामद गरेको छ । महिला पक्राउ परेको तीन दिनपछि सोही ठाउँबाट चार जना युवायुवती आइतबार पक्राउ परेका छन् ।

राजपुरस्थित प्रेम सागर रानाको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ती युवायुवती लागुऔषध प्रयोग गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो । पक्राउ पर्नेमा राजपुरका आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता राना रहेका छन् । उनीहरु सबै १८ वर्षका हुन । उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

‘उनीहरु प्रयोगकर्तामात्रै हुन वा ओसारपसारकर्ता पनि हुन भन्ने कुरा अनुसन्धानबाट खुल्नेछ’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने । ‘हामीले थप अनुसन्धान गरिरहेका छौं ।’ 

प्रहरीले आइतबार नै धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिकबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन् । उनीहरुको साथबाट तीन ग्राम १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेका सबैलाई लागुऔषध शीर्षकमा कानूनी कारबाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दसैँको मुखमा लागुऔषध सम्बन्धी घटेको यो त केही प्रतिनिधि घटनामात्रै हो । तर, कैलालीमा लागुऔषधको बिक्री, वितरण र प्रयोग बढ्दो छ । युवा पुस्ता लागुऔषधको दलदलमा फसिरहेका छन् । पछिल्लो समय प्रहरी सक्रियता अझ बढेपछि उनीहरु धमाधम पक्राउ पर्न थालेका हुन । खुला सिमानाको फाइदा उठाउँदै भारतबाट विभिन्न किसिमको लागुऔषध ल्याइ त्यसको कारोबार र प्रयोग गर्ने क्रम कम नभएको प्रहरीले जनाएको छ । जसमध्ये सूचना पाएजति सबैलाई पक्राउ गरिरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

‘हामीले सूचना पाएपछि पक्राउ गरेर कारबाही पनि गरिरहेका छौं’, उनले भने । ‘पछिल्लो अवस्थामा लागुऔषध अपराधलाई फोकस गरेर सुरक्षा चेकजाँच र कारबाहीको कार्य अगाडि बढाएका छौं ।’ कैलालीमा १०१ किलोमिटर नेपाल–भारत खुल्ला सिमाना छ । ती क्षेत्रमा चोरी तस्करी नियन्त्रण गर्ने, सीमा सुरक्षा गर्ने उद्देश्यले निश्चित दूरी कायम गरेर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । जिल्लाको विभिन्न ठाउँमा बीओपी स्थापनाका साथै नेपाल प्रहरीले पनि सुरक्षा चेकजाँच गर्दै आए पनि लागुऔषधको ओसारपसार नियन्त्रण हुन सकेको छैन । 

कैलालीमा खास गरेर टीकापुर क्षेत्रबाट बढी लागुऔषधको ओसारपसार हुने गरेको प्रहरी अनुमान छ । यसैगरी, लकडाउनको बेला कञ्चनपुरको बेलौरी क्षेत्र भएर भारतबाट बढी लागुऔषध ओसारपसार भएको र त्यो धनगढीतिर ल्याइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।‘गौरीफन्टा नाका त अहिले बल्ल खुलेको हो । योभन्दा पहिले बेलौरी क्षेत्र हुँदै भारतबाट लागुऔषध ल्याउने र धनगढीतिर पठाउने गरिएको थियो’, उनले भने । ‘अहिले सबै नाका खुलेको छ ।’ 

लकडाउन खुलेपछि लागुऔषध अपराधलाई नियन्त्रण गर्नका लागि प्रहरीले विशेष टोली परिचालन गरेको जनाइएको छ । लागुऔषधलाई प्राथमिकतामा राखेर सुरक्षा चेकजाँच गर्दै आएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । यसैगरी, चाडपर्वको बेला लागुऔषधको कारोबार र प्रयोग बढ्न सक्ने भन्दै चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत पनि लागुऔषध अपराध नियन्त्रणलाई प्राथमिकता दिएको उनले बताए । 

लागुऔषधका कारण यो जिल्लामा केही व्यक्तिको ज्यानसमेत गइसकेको छ । लागुऔषध ओसारपसार, बिक्री वितरण र प्रयोग गर्नेलाई प्रहरीले पक्राउ गर्दै आए पनि अझै पनि नियन्त्रण हुन सकेको छैन । अझ, भर्खरका युवायुवती यसको दलदलमा फस्दै गएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष लागुऔषध सम्बन्धी एक हजार ३०७ मुद्दा दर्ता भएको थियो । जसमध्ये प्रहरीले एक सय ३२ जनालाई पक्राउ गरेर कारबाही गरिएको छ । यसैगरी, चालू आर्थिक वर्षको हालसम्म तीन सय ३३ मुद्दा दर्ता भएकोमा ४६ जनालाई पक्राउ गरिएको छ ।