दसैँ तिहारको पूर्व सन्ध्यामा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १ का अध्यक्ष आसेफ कुँवर(भुन्टु)ले वद्धवृद्धा तथा अपांगता भएकाहरुलाई रकम वितरण गरेका छन्। स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ताबाफत प्राप्त रकमलाई कञ्चनपुरका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने प्रतिवद्धता गरेका उनले सोमबार रकम वितरण गरेका हुन्।
अध्यक्ष कुँवरले २ वर्षको तलब भत्ताबाफतकाे ३ लाख ९२ हजार वडामा रहेका १४२ जना वद्धवद्धा तथा अपांगता भएकाहरुलाई वितरण गरेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित उनले ३ हजारका दरले रकम बाँडेका हुन्। ‘म निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि ५ वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिए। आज त्यो पुरा गर्दै छु’, उनले भने, ‘जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोग स्वरुप दिएको हुँ।’
वडाअध्यक्ष कुवँरले जनप्रतिनिधिहरुले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्क गरेका छन्। ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,’ कुवँरले भने, ‘पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु। असाहय असक्त जेष्ठ नागरिकहरु मेरा अभिभावक हुन्। उहाँहरुकै आर्शिवादले म राजनीतिमा अघि बढ्नेछु।’
वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय जेष्ठ नागरिकहरुमा खुसीयाली छाएको छ। उनीहरुले अध्यक्ष कुवँरको जयजयकार गर्दै आर्शिवाद समेत दिएका छन्। ‘यति मनकारी जनप्रतिनिधि पहिलो पटक पाएका छौ’ ८८ वर्षीय लालबहादुर कुवँरले खुसी हुँदै भने, ‘‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं। तर यति मनकारी प्रतिनिधी पहिलो पटक पाएका हौं।’
स्थानीय जनप्रतिनिधी आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत, नदी नियन्त्रणका लागि तटवन्ध लगायतको क्षेत्रको विकास समेत भएको स्थानीयको भनाई छ।