नाकामा लर्को
2021/10/13, 9:46
 
aa

पिठ्युँमा ठूलो भारी । हातमा सानोतिनो झोला । कतिपयका काखमा दूधे बालक पनि । सबैलाई गाडी चढ्ने हतारो ।

फूलपातीका दिन मंगलबार बिहान गड्डाचौकी नाकामा दसैंका लागि घर फर्किनेको भीड थामिनसक्नु थियो । यस्तै भीडमा भेटिए कैलाली टीकापुरका दीपक महतो । दुई महिनाअघि मात्रै भारतको सिमला गएका उनी दसैंका लागि घर फर्किएका हुन् । ‘सिमला पूरै खाली भइसक्यो, नेपाली कामदार घर फर्किसके,’ उनले भने, ‘दसैं–तिहारमा त उता उराठ नै लाग्छ, नआऊँ भने पनि मनले मान्दैन ।’

महतो हरेक वर्ष रोपाइँ सकेर सिमला पुग्छन् । एक महिनाजति स्याउ टिप्छन् । एक महिना घाँस काट्छन् । ‘अब अर्को वर्ष मात्रै जान्छु,’ महतोले भने, ‘दसैं–तिहार खर्च अहिलेको कमाइले पुगिहाल्छ, हिउँदमा त्यहाँ चिसो धेरै हुन्छ काम गर्नै गाह्रो हुन्छ ।’

असोज सुरुदेखि नै गड्डाचौकी नाकामा घर फर्किनेको भीड बढेको छ । दिनमा दुई हजारभन्दा बढी नेपाली यो नाकाबाट फर्किने गरेका हुन् । घटस्थापनादेखि भने भीड अझै बढेको छ । दिनमा तीन हजारभन्दा बढी यो नाकाबाट फर्किन थालेका छन् ।