बैतडीमा प्रहरीले स्थानीयबाट दसैँ खर्च असुले
2021/10/18, 7:12
 
dd

बैतडीमा प्रहरीले दसैँ खर्च भन्दै स्थानीयबाट रकम असुलेको खबर आएको छ। जिल्लाको सिगास गाउँपालिका–८ मा रहेको शिवलिङ प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार पदम अधिकारीको नेतृत्वमा स्थानीय व्यापारीबाट रकम उठाइएको हो। एक व्यापारीका अनुसार प्रहरीले प्रतिव्यक्ति एक हजारका दरले रकम उठाएको थियो। ‘मसँग पनि रकम मागेका थिए। मैले दिएन तर अरुबाट १ हजारका दरले उठाएका छन्’ उनले भने। 

प्रहरी पोष्ट वडा नम्बर ८ मा भएता पनि उसले वडा नम्बर ९ मा गएर बेलाबेला मदिरा व्यापारीबाट समेत रकम असुलेको स्थानीयले जानकारी दिएका छन्। ‘त्यहाँ जान्छन् पैसा नतिरेर रक्सी मासु खान्छन्। गाउँमा आतंक मच्चाएका छन्’ उनले भने। सिगास गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। तर प्रहरीकै आडमा त्यहाँ मदिरा बिक्रि वितरण भइरहेको स्थानीयले आरोप लगाएका छन्।

उक्त विषयमा प्रहरी हवल्दार पदम अधिकारीले आफूमाथि लगाइएको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन्। ‘प्रहरीको रिस मान्ने धेरै हुन्छन्। कसैले त्यत्तिकै आरोप लगाएर बेइज्जत गर्न खोजेको हो। हामीहरु त्यसरी पैसा माग्न गएका छैनौ’ उनले भने। यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले उक्त विषयमा तुरुन्त बुझेर आवश्यक कारबाही गर्ने बताएका छन्। ‘एकदमै दुर्गम क्षेत्रमा रहेको उक्त प्रहरी पोष्टबारकोे गुनासो हामीकहाँ आएको छैन। म तुरुन्त बुझेर गल्ती रहेछ भने आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँछु’ उनले भने।