निरन्तरको वर्षाका कारण देशभरका विभिन्न नदीमा जलस्तर बढेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार रातभर विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नदीहरुको जलस्तर निकै बढेको जनाएको छ ।
विभागअन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घन्टामा केही नदीको पानी बढेको छ । सोमबार राति साढे ९ बजे जारी बुलेटिनअनुसार महाकाली नदीको पारीगाउँ जलसतहले खतराको तह पार गरेको थियो ।
उक्त नदीमा खतराको तह ७ मिटर रहेकोमा त्यसलाई छुने क्रममा नदी थियो । ‘..डडेलधुरा, कञ्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले भोलि बिहानैसम्म उच्च सतर्कता अपनाऔँ,’ सोमबार राति जारी बुलेटिनमा छ ।
यसैगरी सोमबार नै राति सवा ११ बजे जारी बुलेटिनमा भने महाकालीले खतरा तह अर्थात् ७ मिटर पार गरेको जनाइएको छ ।
मंगलबार बिहान साढे ४ बजे महाशाखाले जारी गरेको बुलेटिनमा डोटीस्थित पश्चिम सेतीको गोपालघाटमा जलसतह बढेबो उल्लेख छ । आज दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज बिहान नै ५ बजे महाशाखाले अर्को बुलेटिन जारी गरेको छ । जसमा कैलालीको खुटीया खोला मुडीभरको जलसतहले खतराको तह पार गरेको जनाइएको छ । साढे ४ मिटर खतराको तह मानिएकोमा त्यो बढेर ५ मिटर पुगेको बुलेटिनमा उल्लेख छ ।