महाकालीमा यो वर्षकै ठूलो बाढी, पानीको बहाव ४ लाख ६१ हजार क्युसेक, ५ जना नदीमा फसे
2021/10/19, 8:35
 
V

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका छन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका हुन् । स्थानीय खेमसिंह नाथका अनुसार मसेट्टीका स्थानीयले उक्त क्षेत्रमा कुखुरा खोर बनाएका थिए । त्यसकै लागि उनीहरू त्यहाँ बस्ने गरेका हुन् । आइतबारदेखि नै नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू बीचमा फसेका छन् ।

‘कुखुराका खोर बगाइसकेको छ, चट्टानको बीचमा पाँच जना फसेका छन्,’ नाथले भने, ‘उनीहरूको उद्धार गर्न सकिने अवस्था पनि छैन, यसबारे प्रहरीलाई जानकारी गराएका छौं ।’

ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ । खहरेमासमेत बाढीका कारण आउजाउ गर्न सकिने अवस्था छैन । ‘प्रहरी टोली त्यहाँ पुग्न सक्ने अवस्था छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भने, ‘उद्धारका लागि नेपाली सेनासाग समन्वय गरिरहेका छौं ।’

महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेको छ । सोमबार बिहान महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्युसेक मापन गरिएको छ जुन यो वर्षकै सबैभन्दा बढी हो । बाढी अझै बढ्ने क्रम जारी छ । २०७० को बाढीमा महाकालीमा पानीको बहाव ५ लाख ३५ हजार क्युसेक मापन गरिएको थियो । त्यति बेला बाढीले ठूलो क्षति पुर्‍याएको थियो ।

नदीमा बहाव बढेपछि सोमबार साँझदेखि नै ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । सय वर्ष पुरानो पुलमा जोखिम हुने भन्दै नदीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारी आवागमनमा रोक लगाइने गरेको छ ।