१७ घण्टादेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध छ। कैलालीको भासु भिर नजिक गएको पहिरोका कारण सोमबार साँझ ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।
पहिरोले सडक अवरुद्ध हुँदा ६० भन्दा बढी सवारी साधन र सयौं यात्रु अलपत्र परेको महेन्द्रनगरबाट बैतडी गइरहेका नन्दराज कलौनीले बताए। ‘पहिरोले गाडी जान नसक्दा हिजोबाट हामी अलपत्र परेका छौँ, घरिघरि माथिबाट ढुङ्गा खसिरहेका छन्, पानी पनि रोकिरहेको छैन,’ उनले भने।
बिरामी बोकेका एम्बुलेन्ससहित दर्जनौ गाडी भिरमा रहेकाले माथिबाट निरन्तर आइरहेको ढुङ्गा र पहिरोमा पर्न सक्ने उच्च जोखिम छ। रातभरी सयौ यात्रुले भासु भिर नजिकै भिरमा त्रासदिपुर्ण रात बिताएको कलौनीले बताए।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले आज विहानदेख राजमार्ग खोल्ने प्रयास भइरहेको बताए। ‘राजमार्ग खोल्न एउटा डोजर पठाइएको थियो, तर एउटाले सम्भव भएन,’ उनले भने।