कैलालीका बाढी पीडित भन्छन्-घर छोडेर जानै मन लागेको छैन
2021/10/20, 10:58
 
aa

कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो । बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सारे ।

साँझको खाना पकाएर खानै नपाउँदा उनको भान्सामा पानी पस्यो । परिवार खाना नै खान नपाउँदै र भान्सामा रहेको सामान सार्न नपाउँदै भान्सा घर बाढीले भत्कायो ।  'खाना खाएर निस्केको भए सबै परिवारलाई घरले च्याप्थ्यो । धन्नले कुनै घटना भएन', उनले भने, 'एक छाक भोकै भएर पनि ज्यान जोगियो ।'

अहिले निरकको परिवार सोही क्षेत्रमा रहेको एक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । सोही शिविरमा बस्दै आएकी सीता चौधरीको परिवार पनि सोही नदीको बाढीबाट विस्थापित भएको छ । उनकाे घरभित्रसम्म पानी पसेको छ भने परिवारका सदस्यलाई विद्यालयमा व्यवस्थापन गरिएको छ । उनी भने घर र घरको अन्नपात कुरेर जोखिममा बसेकी छन् । 

'अरु सबै बिद्यालयमा बसेका छन् । घरको अन्नपात र पशु चौपायालाई हेर्नको लागि पनि घरमै बस्नुपरेको छ', उनले भनिन्, 'बर्सेनि यस्तै सास्ती खेप्दै आएका छौँ । राष्ट्रिय गौरवको आयोजनाले कर्णाली नदीमा तटबन्धको काम गर्दै आएको त सुनिन्छ तर कता गरिरहेको छ थाहा छैन । त्यसको हामीलाई कुनै असरसम्म पनि परेको छैन ।'

मङ्गलबार राति ९ बजे विजयनगर शिविरकै विक्रम चौधरीको घर वरिपरिबाट पानीका भंगालो बगिरहेको थियो । परिवारलाई सुरक्षित स्थानमा सारेका उनलाई घर र घरमा भएको सामानको मायाले घर छोड्न दिएको थिएन । दुवै तिरबाट पानीका भंगालोको बीचमा रहेको घरमा चौधरी एक्लै बसेका थिए ।

'घर छोडेर जान मन लागेको छैन । अवस्था कस्तो हुन्छ त्यसैको प्रतिक्षामा म घरमै बसिरहेको छु', उनले भने, 'खेतमा लगाएको अन्नबाली र तरकारी खेती सबै बाढीले बगाएर लगेको छ । एकातिर ज्यान जोगाउन मुस्किल भएको छ भने, अर्कोतिर बस्तुभाउलाई बचाउन ।' नगरपालिकाअन्तर्गतका सातवटै शिविर डुबानमा परेका छन् । विजयनगर शिविरमा जङ्गली हात्तीको त्रासले स्थानीय झनै आतङ्कित भएको स्थानीय बलबहादुर बुढाले जानकारी दिए ।

उनले गाउँमा बढी पसेसँगै जङ्गलबाट गाउँ पसेको हात्तीले केही घर भत्काउनुको साथै घरमा रहेको अन्नपातसमेत नष्ट गरेको बताए ।  नदीको मुख्य तीन कुला रानी, जमरा र कुलरीयामा पानीको सतह अत्यधिक बढेको छ । ती कुलामा पानीको सतह बढ्दा कर्णालीका तटीय क्षेत्रका सयाैँ परिवार विस्थापित भएका छन् भने टीकापुर बजारका मुख्य सडकसमेत जलमग्न बनेका छन् । अहिलेसम्म दर्जनभन्दा बढी पसलमा बाढी पसिसकेको छ । टीकापुर–१ को ब्लक नं १४ का अधिकांश घर डुबानमा परेका छन् ।