महाकाली बाढीपछिको कञ्चनपुर (तस्बिर सहित)
2021/10/20, 8:00
 
dd

आइतबारदेखिको भारी वर्षाले सबैभन्दा बढी सुदूरपश्चिममा क्षति पुर्‍याएको छ । कञ्चनपुर, कैलाली, बझाङ लगायतका जिल्लामा बाढीपहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भिमदत्त नगरपालिकाको वडा नम्बर १२ को तटीय क्षेत्रमा निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेको छ । पक्की सडक कटानपछि बाढी बस्तीमा छिर्ने खतरा बढेपनि बुधबार बिहानै पानी पर्न छोडेपछि जोखिम टरेको छ ।

बुधबार बिहानैदेखि महाकाली नदीले कटान गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयहरूले तारजालीमा ढुङ्गा भर्दै कटान भएको ठाउँमा तटबन्ध निर्माण गरिरहेका छन् । मंगलबार र बुधबार भुजेला खोलाको पानी महाकालीमा पास गर्न निर्माण गरिएको साइफनबाट महाकालीको बाढी भुजेलाको गाउँ पसेपछि भिमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ का करिब दुईसयभन्दा बढी घर परिवार विस्थापित भएका थिए । विस्थापित भएका २७ सय जनालाई सुरक्षित स्थानमा सार्ने काम भइसकेको र केहीलाई सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मंगलबार महाकाली नदीमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । महाकाली नदिमा मंगलबार ९२ वर्ष यताकै ठुलो जलस्तर मापन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार महाकाली नदीमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । यसअघि २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानीको रेकर्ड मापन गरिएको थियो ।