बाजुराको जगनाथ गाउँपालिकाको कार्यालय बाढीले बगायो
2021/10/21, 3:00
 
aa

निरन्तर वर्षापछि आएको बाढीबाट बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको कार्यालय बगाएको छ ।

जगन्नाथ गाउँपालिकाको केन्द्रको वडा नम्बर २ र ३ को सीमानामा पर्ने जुड्डी खोलामा आएको बाढीले गाउँपालिकाको कोरोना अस्थायी अस्पताल, गाउँपालिकाले प्रशासनिक काम संचालन गर्दै आएको टिनको टहरालगायत बगाएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए।

मानवीय क्षति नभए पनि भौतिकरुपमा ठूलो मात्रामा क्षति भएको अध्यक्ष शाहीले बताए । बुधबार राति आएको जुड्डी खोलाको बाढीले गाउँपालिकाको केन्द्रतिरको भाग कटान गरेपछि गाउँपालिकाको भवन बगाएको अध्यक्ष शाहीको भनाई छ ।  

बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठामा क्षति पुगेको रोजगार संयोजक लक्ष्मण जोशीले बताए। त्यस्तै, ५ शैयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभा हल पनि बगाएको छ ।

कार्यालयका फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्प्युटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, लुगाकपडा, गाँउपालिकाको खेल मैदान, जुड्डीखोला लघु जलविधुत योजनाको तार, पोल खोलाले बगाएको छ।