नेपाल एयरलाईन्सको ट्वीनटर जहाजले आजदेखि धनगढीबाट पहाडी जिल्लामा हवाई उडान सुरु गरेको छ । धनगढीलाई केन्द्र बनाएर उडान थालेको नेपाल एयरलाईन्सले पहिलो चरणमा डोटी र बझाङमा हवाई सेवा थालेको हो ।
आज बिहान १७ जना यात्रु, तीन जना क्रु सदस्य, दुई जना कर्मचारी लिएर डोटीका लागि पहिलो उडान भरेको नेपाल एयरलाइन्सको जहाजले फर्किँदा पनि सिट क्षमताअनुसार यात्रु पाएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । नेपाल एयरलाईन्सले धनगढी–बझाङको भाडा ३ हजार ९सय ९५ रुपैयाँ धनगढी–डोटीको भाडा २ हजार ६ सय १५ रुपैयाँ तोकेको छ ।
अविरल वर्षापछि आएको बाढी र पहिरोले पहाडी जिल्लामा यातायात सेवा अवरुद्ध भएपछि नेपाल वायुसेवा निगमले धनगढीबाट पहाडी जिल्लामा हवाई सेवा सुरु गरेको हो । बाढी र पहिरोका कारण सडक मार्ग अवरुद्ध भएपछि पहाडी जिल्लाको जनताको सुविधाका लागि नेपाल एयरलाईन्सले डोटी र बझाङमा हवाई सेवा सुरु गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बाढी पहिरोले सडक अवरुद्ध भएका पहाडी जिल्लाका जनताको माग र आवश्यकता अनुसार नेपाल एयरलाईन्सले तत्काल डोटी र बझाङमा हवाई सेवा सुरु गर्न लागेको बताए ।
प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा बाढी पहिरो प्रभावित पहाडी जिल्लामा भ्रमणमा भ्रमणमा उच्चस्तरीय टोलीलाई डोटी र बझाङका जनताले हवाई सेवा तत्काल सञ्चालन गर्न आग्रह गरेका थिए । सरकारका तर्फबाट मन्त्री आलेले तत्काल पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता आफूले पूरा गरेको मन्त्री आलेले बताए ।