डडेल्धुरा–डोटी सडक सुचारु गर्ने प्रयास जारी, केही दिन लाग्ने
2021/10/24, 11:23
 
dd

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक साता देखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने केआई मार्ग सुचारु गर्ने प्रयास तिब्र पारिएको छ । स्थानीय बासिन्दाको अवरोधका कारण बाटो मर्मत सम्भार गर्न नसकिएको केआईसिंह मार्गको गन्यापधुराको रडुवाखोला–गजरौला खण्ड प्रमुख जिल्ला अधिकारी मोहन जोशीको पहलमा हिजोदेखि मर्मत संभार शुरु भएको हो ।

स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै मर्मत संभारमा अवरोध गरेका थिए । प्रजिअ जोशीले सडक निर्माण तथा मर्मत संभारबाट वस्ती जोखिममा पर्न नदिन पहिरो जाने संभावित स्थानमा पक्की पर्खाल बनाउने प्रतिबद्धता गरेपछि स्थानीय बासिन्दाहरु सडक मर्मतका लागि स्काभेटर प्रयोग गर्न दिन सहमत भएका थिए ।

रुडुवा खोला–गजरौला खण्डमा सय मिटर भन्दा बढि सडक खण्ड पहिरोले बगाएको छ । तत्काल सो क्षेत्रमा नदी सतहबाट पर्खाल उठाएर सडक निर्माण गर्ने अवस्था नभएकोले सडक छेउको भाग काटेर एक तर्फी यातायात सञ्चालन गर्ने कोसिस भईरहेको प्रजिअ जोशीले बताए । जोशीले भने, हामी दुई दिनभित्र एक तर्फी रुपमा भएपनि यातायात सेवा सञ्चालन गर्ने कोसिसमा छौ ।

बाढी र पहिरोले सडक नै बगाएपछि एक सातादेखि डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग अवरुद्ध हुदा सर्वसाधारण तथा यात्रुहरु पैदल कष्टकर यात्रा गर्न बाध्य छन् ।