मुख्यमन्त्री सहितको टोली पहिरो प्रभावित क्षेत्रमा
2021/10/25, 11:07
 
aa

मुख्यमन्त्री त्रिलोचन भट्टले सहितको टोली सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको पहिरो प्रभावित क्षेत्रको स्थलगत तथा हवाइ अनुगमन गरेको छ ।  मुख्यमन्त्री सहितको टोलीले बझाङको थलारा गाउँपालिका–४ डिक्लासित्तल, खप्तडछान्ना गाउँपालिका, बैतडीको सिगास–५ ढुंगाड, डोटीको आदर्श गाउँपालिका–६ बबिनाथ र सायल गाउँपालिका–५ देवरमाण्डौं पुगेर पहिरो पीडितका समस्या सुनेको छ ।

सो अवसरमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकारले पहिरोमा परेर मृत्यु भएका परिवारलाई काजक्रिया खर्च सहित एक लाख २० हजार र घर पुननिर्माण गर्नुपर्ने अवस्था भएकालाई ५० हजार तत्काल राहत उपलब्ध बताए । मुख्यमन्त्री भट्ट आज सोमबार पनि सडक मार्गबाट डोटीको जोरायल क्षेत्रको अवस्था बुझ्न गएका छन् ।

असोज ३१ गते देखि कात्तिक २ गतेसम्म परेको अत्याधिक वर्षाकाले बाढी पहिरोमा परेर सुदूरपश्चिम प्रदेशमा ३७ जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा गएको टोलीमा सभामुख अर्जुनबहादुर थापा, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री माता तामाङबोहरा , प्रदेश सभा सदस्यहरु भरत खड्का, प्रेमप्रकाश भट्ट, सङ्घ सरकार पूर्वमन्त्री भानुभक्त जोशी, संविधान सभा सदस्य हर्कबहादुर सिंह लगायतको सहभागिता थियो ।