धनगढीका व्यापारीको कुटपिटपछि मृत्यु, २ जना पक्राउ
2021/10/25, 4:20
 
deepandra

धनगढीमा व्यापार गर्दै आएका एक जनाको मृत्यु भएको छ। बसपार्क पछाडिको गोलमार्केटमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका २९ वर्षीय दीपेन्द्र जोशीको मृत्यु भएको हो। 

उनको कुटपिटपछि मृत्यु भएको आफन्तले बताएका छन्। मृतक जोशीका भाई किरण जोशीले हत्या गर्ने उद्धेश्यले दसैँका दिन कुटपिट गरिएको आरोप लगाए। ‘कञ्चनपुरकै सेल्फिडाँडामा बोलाएर कुटपिट गरेका थिए।  त्यसको दोस्रो दिन धनगढी जाँदा अघिल्लाे दिन भएकाे कुटपिटका कारण माेटरसाइकलबाट लडेका थिए,’ उनले भने। 

मृतक जोशीलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको लखनउँ रेफर गरिएको थियो। टाउकोमा गम्भिर चोटपटक लागेका उनको शनिबार रक ल्याण्ड ट्रमा सेन्टरमा मृत्यु भएकाे आफन्तले बताएका छन्। 

आफन्तले दिपेन्द्रकाे हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ४ जनाविरुद्ध किटानी र अन्य १० जनालाई पनि आरोपित बनाएर जाहेरी दिएका छन्। लखनउँका डाक्टरले सडक दुर्घटनाकाे चोट नदेिखएकाे र कुटिपटकै कारण चाेट लागेकाे बताएकाे भाइ किरणले दाबी गरे।

उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाकान्त चर्तुवेदीले दिपेन्द्रको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे खुल्ने बताए। ‘पोेष्टमार्टम रिपोर्ट आएपश्चात मात्रै कुटपिटपछि वा दुर्घटनापछि मृत्यु भएको खुल्नेछ। हामीले जाहेरीपछि २ जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं’ उनले भने।