कैलालीको धनगढी उपमहानगरपालिका - ३ बडहराका ४२ वर्षीय गोपाल केसी १० दिनअघिसम्म जीम गईरहेका थिए । वर्षौैदेखि जिम गर्दै आएका केसीले कोरोनाको दुई वटै खोप पनि लगाईसकेका थिए । उनी नियमित व्यायामका कारण स्वस्थ देखिन्थे । एक साता अघि ज्वरो र खोकी लागेपछि उनले मेडिकल पसलबाट औषधी ल्याएर खान थाले । जव मेडिकलबाट ल्याएको औषधीले काम गरेन । आईतवार साँझ उनी बरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थको क्लिनिकमा पुगे ।
डा.कायस्थ उनको अवस्था देखेर आत्तिए । र स्वास्थ्यमा किन यति लापरबाही गरेको भनेर उनी झर्किए । डा.कायस्थ भन्छन्, “म कहाँ आउदा केसीको शरीरमा अक्सिजनको लेवल ३५ प्रतिशत थियो र सास तिब्र रुपले बढिरहेको थियो । कोरोनासंगै उनलाई कडा खालको निमोनिया भएको र त्यसले फोक्सोमा असर गरिसकेको देखिन्थ्यो । एक्सरे गर्दा फोक्सो ड्यामेज देखियो ।”
डा. कायस्थले तत्काल केसीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न लगाए । आईतवार साँझ नोभा अस्पतालमा भर्ना गरिएका केसीलाई अक्सिजन चढाउदा पनि उनको अक्सिजनको स्तर ५० प्रतिशतभन्दा माथि उक्लिएन । र उपचारकै क्रममा भर्ना भएको २४ घण्टा नबित्दै सोमवार साँझ केसीको नोभा अस्पतालमा मृत्यु भयो । परिवारजनले केसीलाई हेलिकोप्टर मार्फत उपचारका लागि काठमाण्डौ लैजाने कोसिस गरेका थिए । उनको अवस्था जटिल भएका कारण त्यो संभव भएन । डा.कायस्थ कोरोनालाई सामान्य रुपमा लिदा र समयमा उपचारका लागि अस्पताल नपुग्दा केसीको ज्यान गएको बताउछन् ।
धनगढीमा यतिधेरै अस्पताल छन्, डा. कायस्थले भने, घर छेउमै भएका अस्पतालमा उपचारका लागि नगएर मेडिकल पसलबाट किनेर ल्याएको औषधीको भर पर्दा केसीको ज्यान गएको हो । कोरोना परीक्षण नगरी आफू खुशी औषधी लिदा यसरी ज्यान गुमाउने केसी पहिलो भने होईनन । धनगढीमा थुप्रैले यसैगरी ज्यान गुमाएका छन् ।
धनगढी उपमहानगरपालिका - २ का ५४ वर्षीय जीतराम चौधरीले ज्वरो र खोकी लागेपछि टाईफाईडको औषधी खान शुरु गरे । जव त्यो औषधीले काम गरेन । अनि अस्पताल पुगे । परीक्षणका क्रममा कोरोना देखिएका उनको त्यतिबेलासम्म फोक्सो ड्यामेज भईसकेको थियो । सेती अस्पतालको कोरोना अस्पतालको आईसियुमै केही समय पहिले उनको मृत्यु भयो । दशैं अघि यसैगरी भजनीकी २० वर्षीया किशोरीको मृत्यु भयो । काठमाण्डौंमा स्नातक तहमा पढ्दै गरेकी उनी बिदामा घर आएकी थिईन । उनलाई पनि ज्वरो र खोकी लागेका थियो । केही दिन मेडिकल औषधी खाईन । त्यसले निको नभएपछि उनलाई परिवारजनले उपचारका लागि नेपालगञ्ज हुदै लखनउ लगे ।
लखनउमा उपचारका क्रममा उनको दशैं अघि मृत्यु भयो । त्यसको केही दिनपछि बौनियाका २७ वर्षीय एक युवकको पनि यसै गरी मृत्यु भयो । सेती प्रादेशिक अस्पतालका कन्सलट्याण्ट फिजिसियन डा. निराजन शर्मा कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गर्छन ।पहिले नै कोरोना भईसकेकोले अव फेरि कोरोना हुदैन भन्ने हुदैन, डा।शर्मा भन्छन्, र एक पटक कोरोना भईसकेको र दुई वटै खोप लगाईसकेको मान्छेलाई फेरि कोरोना लागे जोखिम हुदैन भन्ने भ्रम पालेका कारण अकालमा थुप्रैले ज्यान गुमाईरहेका छन् । कोरोना सामान्य होईन । लापरबाही नगरौ ।