गत असोज ३१ गतेदेखि आएको बाढीले तटबन्ध बगाउँदा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मात्र करिब १४ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आयोजनाको नहर सर्भिस रोड र तटबन्धमा बाढीले क्षति र्पुयाएको हो ।
कर्णाली नदीले खैरेनी चिसापानी क्षेत्रमा करिब एक सय मिटर तटबन्ध कटान गरी आयोजनाको मुल नहरमा अत्याधिक पानी पसी क्षति र्पुयाएको आयोजनाले जनाएको छ । प्रारम्भिक सर्भेको आधारमा क्षति अनुमान गरिएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठले बताए ।
उनका अनुसार मुल नहरको करिब १० मीटर र लम्की विस्तार नहरमा करिब २५ मीटर लाइनिङ प्यानल फुटाएको छ भने रानी जमरा कुलरिया शाखा नहरको मुहानमा क्षति पुगेको छ ।त्यसैगरी, टीकापुर नगरपालिकाको शाहीपुर क्षेत्रबाट तटबन्ध फुटाएर कर्णाली नदी बस्तीतिर गइ हुलाकी राजमार्गको सत्ती क्षेत्रमा करिब ३ सय मिटर बाटो पुर्ण रुपमा क्षति पुगेको छ ।
रानी जमरा कुलरियाको सिञ्चित क्षेत्रका करिब २ किलोमीटर सर्भिस रोडमा क्षति पुगेको र सत्तीदेखि खक्रौलासम्म रहेको बक्स तथा ह्युमपाइप कल्भर्टमा पनि क्षति पुगेको इन्जिनियर श्रेष्ठले बताए ।
कर्णाली नदीमा ४२ किलोमीटर जति तटबन्ध बनाउनुपर्नेमा करिब ३५ किलोमीटर मात्र निर्माण सम्पन्न भएको थियो । नबनेको र बन्ने क्रममा रहेको ठाउँबाट कर्णाली नदी बस्तीतिर छिरेको सिडिइ श्रेष्ठले बताए । नदीको वार्निङ लेभल ९.८ मिटर र डेन्जर लेभल १०.५ मीटर रहेको छ । पानीको सतह १३ मीटरसम्म पुगेको उनले बताए ।