एकै दिनमा हजारौंको संख्यामा भारतबाट आउने नेपालीको संख्या घट्दै, त्रिनगर र गड्डाचौकीबाट १६ सय मात्रै भित्रिए
2020/06/15, 8:31
 
sima

एकै दिनमा हजारौंको संख्यामा भारतबाट आउने नेपालीको संख्या घट्दै गएको छ । एकै दिनमा पाँच सात हजार नेपालीहरु आउने गरेकोमा हाल आएर त्यो संख्या घट्दै एको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

सोमवार कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट १६ सय बढी नेपाली स्वदेश भित्रिएका छन् । कैलालीको त्रिनगर नाका भएर भारतबाट सोमवार एक हजार एक सय ४३ जना भित्रिएका छन् भने कञ्चनपुरको गड्डाचौकी भएर ५ सय २० जना भित्रिएका छन् । त्यस्तै दुवै नाकाबाट १ सय ५५ भारतीय नागरिक पनि स्वदेश फर्किएका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले त्रिनगरबाट फर्किएकाहरुलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको जानकारी दिए । त्रिनगर नाकाबाट दैनिक दुई हजारदेखि सात हजारको हाराहारीमा फर्किने गरेकोमा पछिल्लो केही दिनयता सो संख्या घटेको छ ।