कोरोना जितेका स्वास्थ्यकर्मी भन्छन– “कोरोना संक्रमितहरु सामाजिक दुर्व्यवहारले पिडित छन”
2020/06/15, 11:30
 
korona

सुनिलकुमार लो कञ्चनपुर– कोरोनालाई जितेका पुनर्वासका स्वास्थ्यकर्मी जनकसिंह धामी घर फर्किएका छन् । कोरोनालाई जितेर घर फर्किएका उनले कोरोना संक्रमितहरु रोगले भन्दा पनि सामाजिक दुव्र्यवहारले पिडित भएको बताएका छन । स्वास्थ्यकर्मी धामीले कोरोनालाई जित्न सजिलो भएको तर मान्छेको गलत सोचलाई परास्त गर्न आवश्यक रहेको बताए । 

आफ्नो अनुभव सुनाउँदै धामीले भने– ‘हिजोसम्म जता पनि मेरो आवश्यकता पर्ने तर संक्रमित भएको खबर थाहा हुने बित्तिकै धामीले बर्बाद बनायो भनेर कुरा काटेर घृणा फैलाउनेहरु कोरोना भाईरस भन्दा पनि खतरनाक छन् । मैले कोरोना परास्त गरेपनि गलत सोचहरुलाई परास्त गर्न सकेको छैन ।’ कोरोनाको पिडाले भन्दा पनि मान्छेहरुबाट पाएको घृणाले आफू निकै तनावग्रस्त भएको धामीको गुनासो छ । “आफू जोखिममा रहेर आफ्नो र परिवारको ज्यानको प्रवाह नगरी काम गर्दा गर्दै संक्रमित हुन पुगे तर बदलामा घृणा पाए ।”

आफ्नै पहलमा पन्ध्र जनाको पिसिआर चेक भएको र त्यसमा आफ्नो रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसन गएको बताउँदै धामीले पिसिआरको पहल नगरेको भए पुनर्वास ठूलो जोखिममा पर्ने खुलासा गरे । पुनर्वास नगरपालिका ९ स्थित परासन स्वास्थ्य चौकीमा कार्यरत धामी कोरोना जितेर सोमबार बेलुकी घर फर्केका हुन । आफुलाई कोरोना पोजेटिभ भएको थाहा पाउँदा सुरुमा निकै डराएको स्मरण गर्दै आफुलाई सामान्य  समस्या बाहेक केही लक्षण नदेखिएको उनले बताए ।

विदेशतिरको मृत्युको खबरले तनाव दिए पनि शुभेच्छुकहरुको माया र आशिर्वाद तथा स्वास्थ्यकर्मीहरुको रेखदेखले आफूले कोरोनालाई जितेको धामीको भनाई छ । कोरोना संक्रमणको जोखिम कम भईनसकेकोले सबैलाई होशियारी अपनाउन उनले आग्रह गरे । स्वास्थ्यकर्मीहरु संक्रमित हुनको मुख्य कारण स्वास्थ्य सामाग्रीको अभाव भएको बताउँदै सम्बन्धित निकायको यस तर्फ ध्यान जानु आवश्यक रहेको उनको भनाई छ ।

उनको गत जेठ २१ गतेको पिसिआर रिपोर्टमा पोजेटिभ आएको थियो । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा १४ दिन विताएका धामीको तीन वटा परिक्षण नेगेटिभ आएको थियोे । सोमबार डिस्चार्ज हुने भएपछि पुनर्वास नगरपालिकाले पठाएको गाडीमा चढेर धामी घर पुगेका हुन ।