कैलालीमा राहदानी बनाउने धेरै, श्रम स्वीकृति लिने न्यून
2021/11/09, 11:50
 
dd

राहदानी धेरैले बनाउने गरेको कैलालीमा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या भने न्यून देखिएको छ । कतिपय व्यक्ति श्रम स्वीकृतिबिनै अवैधानिक रुपमा वैदेशिक रोजगारमा जाने गरेकाले श्रम स्वीकृति लिनेको सङ्ख्या कम देखिएको हो ।

राहदानी बनाएका कतिपय व्यक्ति चोर बाटो भएर भारतको दिल्ली हुँदै अवैध रुपमा विभिन्न मुलुकमा पुग्ने गरेका छन् । श्रम स्वीकृतिबिनै दिल्ली हुँदै विभिन्न मुलुकमा कामदार पठाउने गरिएको छ । त्यसरी पठाइएका कैयौं कामदार समस्यामा पर्ने गरेका छन् । श्रम तथा रोजगार कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको दुई महिनासम्म जम्मा ७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये दुई जना महिला रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा भने ६९६ जनाले श्रम स्वीकृति लिएको सूचना अधिकारी जयदेव विष्टले बताए । सो आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमा ११ जना महिला पनि थिए । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा ४० जना महिलासहित दुई हजार ३६१ र आर्थिक वर्ष २०७५/७६ मा १४ जना महिलासहित एक हजार ५२९ जनाले श्रम स्वीकृति लिएका थिए । कतिपयले बाहिर फाराम भर्ने गरेका र तिनीहरुको तथ्याङ्क कार्यालयलाई थाहा नहुने गरेको सूचना अधिकारी विष्टको भनाइ छ । तर, श्रम स्वीकृति लिने बेलामा श्रम तथा रोजगार कार्यालयमा आइरिस गर्न अनिवार्य रहेको उनले उल्लेख गरे । 

राहदानी बनाउने महिलाको सङ्ख्या केही हद्सम्म बढेको देखिन्छ । तर, श्रम स्वीकृति लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या थोरै देखिने गरेको छ । पासपोर्ट बनाएर कतिपय महिलालाई भारतको बाटो हुँदै अनाधिकृत रुपमा कुवेत, कतार लगायतका खाडी मुलुकमा पठाइने गरेको माइती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीको ठहर छ । 

‘छोरीचेलीहरुलाई वैदेशिक रोजगारको नाममा अनाधिकृत रुपमा विभिन्न देशमा पठाउने गरिएको छ’, उनले भने, ‘त्यहाँ पुगेपछि उनीहरु श्रम र शारीरिक शोषणमा पर्ने गरेका छन् ।’ श्रम स्वीकृति लिनेको संख्या कम भए पनि कोरोना महामारीकैबीच कैलालीमा राहदानी लिनेको सङ्रख्या बढ्न थालेको छ । 

विदेश जानका लागि मान्छेले धमाधम राहदानी बनाउन थालेका हुन । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको मध्य असोजसम्ममात्रै एक हजार ५८ जनाले राहदानी बनाएका छन् । जसमध्ये धेरैले वैदेशिक रोजगारमा जाने उद्देश्यका साथ राहदानी बनाएको जिल्ला प्रसाशन कार्यालयका नायब सुब्बा रामप्रसाद ज्ञावालीले जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ३८३ जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएका थिए । जसमध्ये ६१३ जना महिला छन् । कोरोना महामारीका कारण आर्थिक वर्ष २०७७/७८ मा भने राहदानीको काम स्थगित गरिएको थियो । विश्वमा फैलिएको कोरोना महामारी कम हुदैँ गएपछि फेरि विदेशिनेक्रम बढ्न थालेको छ । 

वैदशिक रोजगारमा जान चाहेकाहरुलाई प्रशासन कार्यालयमा रहेको आप्रावासन सूचना तथा परामर्श केन्द्रले रोजगारी सम्बन्धमा विभिन्न परामर्श दिने गरेको छ । २०२० दुई हजार १२४ जनाले केन्द्रबाट परामर्श लिएको परामर्शकर्ता मीना डबरियाले बताइन् । जसमध्ये ५८० जना महिला रहेका उनको भनाइ छ ।

यसैगरी, सन २०२१ को हालसम्म एक हजार ७०९ जनाले परामर्श लिएका छन् । त्यसमा ५५५ जना महिला पनि रहेका छन् । वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने बढे पनि श्रम स्वीकृति लिनेको सङ्ख्या भने कम छ । कतिपय व्यक्ति चोर बाटोबाट विभिन्न देशमा पुग्ने गरेकाले राहदानी बनाउने बढे पनि श्रम स्वीकृति लिनेको सङ्ख्या कम देखिएको हो ।