मदिरामा मात्तिएका सेनाका मेजर मध्यराति अर्कै होटल पसेपछि रातभर बबण्डर, दिउँसो उन्मुक्ति !
घटना मिलापत्रमै टुंग्याइयो
2021/11/09, 7:44
 
dd

कैलालीमा मदिरामा मात्तिएका नेपाली सेनाका मेजर रातिको समयमा अर्कै होटलको पछाडिबाट पसेपछि बबण्डर मच्चिएको छ । विवाद बढेर लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाही चढेको गाडी र इलाका प्रहरी कार्यालय तोडफोड भएको हो । स्थानीयलाई गालीगलौज गरेका शाहीमाथि ढुंगामुढा प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार घटना आइतवार राति करीब १० बजेतिरको हो । मदिराको नशामा लठ्ठिएका मेजर शाही शिक्षालयभन्दा १ किलोमिटर पूर्व चिसापानी बजारस्थित लुक्स होटलमा जान खोजेका थिए तर नशाले गर्दा मान्छेसम्म चिन्न नसक्ने अवस्थामा पुगेका मेजर शाही अर्कै होटल अर्थात संगम होटलमा पसे । होटल बन्द भइसकेको अवस्थामा उनी होटलको पछाडिबाट भित्र पसेका थिए ।

होटलभित्र संगम होटलका सञ्चालक हर्क रावल र उनका केही आफन्त बसेका थिए । होटल सञ्चालक रावलले भने, ‘उहाँ पछाडिबाट पस्नुभयो । एक्कासि गाली गर्न थाल्नुभयो । पछि मसँग बसेका धिरज शाही र लव शाहीले चिनिहाले र बाहिर निकाले । उनी थाना (ईलाका प्रहरी कार्यालय) तिर गए । होहल्ला भइसकेको रहेछ । स्थानीय समेत जम्मा भइसकेका थिए । मलाई मेरो परिवारले निस्कनै दिएनन् ।’ स्थानीयका अनुसार विवाद चर्किंदै गएपछि मेजर शाही शिक्षालयतिर गए । ड्युटीमा रहेका जवानसँग भएको एसएलआर राइफलसहित उनी पुनः विवाद भएको ठाउँ पुगे, स्थानीयतिर राइफल ताके ।

आक्रोशित स्थानीयले उनीसहित उनी चढेको बागमती प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडीमा ढुंगामुढा बर्साए । नजिकै रहेको ईलाका प्रहरी कार्यालयबाट तैनाथ प्रहरीले उनलाई आफ्नो कार्यालय लग्यो । मेजर शाहीलाई प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयको भवनमा समेत तोडफोड गरे । पछि उनलाई इलाका प्रहरी कार्यालय लम्कीमा लगिएको प्रहरीले जनाएको छ । स्थानीयको कुटपिटबाट घाइते शाहीको टाउको १६ वटा टाँका लागेका प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनीमाथि थप कारवाहीको लागि नेपाली सेनालाई पत्राचार गरिएको बताइएको छ । घटना सार्वजनिक अपराध सम्बन्धी रहेको र घटनामा संलग्न नेपाली सेनाका मान्छे रहेका बताउँदै प्रहरी उपरीक्षक अधिकारीले जबरजस्तीकरणी, ज्यान मुद्दा र लागूऔषध बाहेकको मुद्दा आफूहरूले हेर्न नमिल्ने स्पष्ट पारे ।

घटना मिलापत्रमै टुंग्याइयो

मेजर शाहीको ज्यादती सहितको घटना मिलापत्रमै टुंग्याइएको छ । सोमवार इलाका प्रहरी कार्यालय लम्कीमा भएको छलफलपछि मेजर शाहीले आफू अर्कै होटल पस्न खोजेको तर अर्कै होटल पसेको भन्दै घटनाप्रति क्षमा मागेको बताइएको छ । तोडफोड भएको गाडी मेजर शाहीले आफैं बनाउने र ईलाका प्रहरी कार्यालय भवनमा भएको तोडफोडको जिम्मा स्थानीयले लिएर मर्मत गर्ने सहमति भएको बताइएको छ तर कसैमाथि मुद्दा नचलाइने भएको छ । हालसम्म कसैविरुद्ध उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे छानबिन गर्न सेनाले एक टोली कैलाली पठाएको छ । टोलीले घटनाबारे अनुसन्धान थालेको स्रोतले जनाएको छ ।प्रहरी उपरीक्षक अधिकारीले भने, ‘उनी मान्छे चिन्न सक्ने अवस्थामा थिएनन् । उनको त्यो दिन ‘ब्याड डे’ थियो । हामीले घटना विवरण सेनालाई दिइसकेको छौं । सेनाले पनि अनुसन्धान गर्दैछ । मेजर शाहीलाई विभागीय कारबाही अनिवार्य हुने देखिन्छ ।’