कैलालीमा केही समयका लागि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध भएको छ। जिल्लाको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार विहानदेखि राजमार्ग अवरुद्ध पारिएकोमा दिउसो खुलेको थियो।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरीले घटनाको अनुसन्धानलाई सहज बनाउन आग्रह गदै लम्कीस्थीत पूर्वपश्चिम राजमार्ग खुलाउने प्रयास गरेपछि ५ मिनेटसम्म सवारी सञ्चालन भएका थिए।
फेरि पीडित पक्षले आन्दोलन गरेपछि राजमार्ग पुनः अवरुद्ध भएको गौतमले बताए। आन्दोलनलाई साम्य पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन्। मंगलबार राति लम्कीका व्यापारी डम्वर बडुवालका २२ वर्षीय छोरा भूपेन्द्रको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले हत्याको आरोपमा ८ जनालाई पक्राउ गरेको छ भने केही अझै फरार छन्।