कैलालीको लम्कीचुहा नगरपालिकाका २२ वर्षीय भूपेन्द्र बडुवाल खासमा अमेरिकामा गएर त्यतै सेटल हुने योजनामा थिए । डिभी परेपछि उनी दशैं मनाउन काठमाडौंबाट कैलाली पुगेका थिए । काठमाडौंमा बहिनीसँग बस्दै आएका बडुवालले तिहार पनि कैलालीमा नै मनाउने योजना बनाए ।
मनाए पनि । त्यसपछि उनी अमेरिका जाने तयारी गरिरहेका थिए । काठमाडौंमा ब्याचलर्स पढिरहेका बडुवाल त्यसपछि काठमाडौं फर्किने र अमेरिका जाने अन्तिम तयारी गर्ने योजनामा थिए । तर, उनले सोचेजस्तो भएन । मंगलबार राति खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी आइपुगे । काठमाडौंमा पनि नजिकका साथी कपिल श्रेष्ठ उनको घरमा उनलाई बोलाउन पुगेका थिए ।
त्यही राति साथीसँग केही पर काम पर्यो भनेर निस्किएका बडुवालको हत्या भयो । टीकापुर नगरपालिकामा रहेको सिद्धार्थ होटल नजिकै उनको शव भेटिएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनलाई चक्कू प्रहार गरिएको बताएको छ ।कपिलसँग घरबाट निस्किएका बडुवालको बाटोमा नै चिसापानीका नवीन रावलसँग भेट भएको थियो । रावलको समूहले टीकापुरकै अर्का एक शाही थरका युवाको हत्या गर्ने योजना बनाएको थियो । त्यसका लागि उनीहरुले बडुवाललाई प्रयोग गर्न खोज्यो ।
बडुवाललाई प्रयोग गरेर रावलले हत्या गर्न खोजिएका ती शाही थरका युवालाई बोलाउने योजना बनाएको थियो । भूपेन्द्रलाई भनेर उनीहरुले ती शाही थरका युवालाई घरबाट बाहिर बोलाउन खोजेका थिए । भूपेन्द्रले यो कुराको सुइँको पाए । उनले रावल समूहको उद्देश्य थाहा पाएपछि त्यहाँबाट भाग्ने प्रयास गरे । उनी भाग्न खोजेपछि रावलको समूहले उनीमाथि चक्कू प्रहार गरेको हो । प्रहरीका अनुसार यो घटनापछि रावल फरार छन् । प्रहरीले रावलका आमा, बाबु र भाइलाई पक्राउ गरेको छ । घटनामा उनको स्कुटर प्रयोग भएको थियो । त्यसैले प्रहरीले यी तीन जनालाई पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिएको जानकारी अनुसार यही घटनामा अन्य आठ जना पनि पक्राउ परिसकेका छन् । विष्टका अनुसार प्रहरीले संगम होटलका सन्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि पक्राउ गरेको छ । प्रहरीले अब नवीनलाई खोजिरहेको छ । घटना भएलगत्तै उनी फरार छन् । तर, रावलसँग सम्बन्ध भएको आधारमा अन्य पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।
संगम होटलका सन्चालक चाहिँ त्यही होटलमा आइतबार साँझ भएको अर्को एक घटनाका कारण पनि पक्राउ परेका हुन् । प्रहरीका अनुसार आइतबार साँझ सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीमाथि कुटपिट भएको थियो । हर्कबहादुरसँग उनको विवाद भएको र उनका छोराको समूहले मेजरमाथि आक्रमण कुटपिट गर्दै गाडी तोडफोड गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।