कैलालीमा लागुऔषधको कारोबार बढ्दै
2021/11/11, 6:29
 
dd

सुरक्षाको दृष्टिकोणले संवेदनशील जिल्ला मानिने कैलालीमा लागुऔषधको कारोबार बढ्दो छ । सीमापारिबाट सजिलै लागुऔषध भित्र्याइने गरेकाले यसको बिक्री वितरण तथा प्रयोगमा कमी आउन नसकेको हो । १०१ किलोमिटर खुल्ला सिमाना रहेको कारण भारतबाट सजिलै नेपालतिर लागुऔषध भित्र्याउने गरिएको छ । 

पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । यसैगरी, प्रहरीले पनि लागुऔषध नियन्त्रण कार्यलाई प्रमुख प्राथमिकता दिएको छ । तर, लागुऔषधको बिक्री वितरण र प्रयोगमा कमी आउन नसकेको प्रहरीको तथ्याङ्कले पुष्टि गर्दछ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कैलालीमा लागुऔषध सम्बन्धी ९१ मुद्दा परेको थियो । सो अपराधमा संलग्न भएका छ महिलासहित १३२ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको छ । 

यसैगरी, यो जिल्लाबाट प्रहरीले ३४६ ग्राम ७८६ मिलिग्राम ब्राउन सुगर, नाइट्रोभेट दुई हजार ८६२ ट्याब्लेट, स्पास्मो एक हजार १२२ क्याप्सुल बरामद गरेको थियो । यस्तै, सोही वर्ष ट्रमाडोल ५२० ट्याब्लेट, अफिम १५ ग्राम लगायत विभिन्न किसिमका लागुऔषध बरामद गरेको थियो । 

चालु आर्थिक वर्षको हालसम्म ३० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी, चार महिलासहित ४६ जना पक्राउ परेका छन् । यो वर्ष हालसम्म ८२ ग्राम २०७ मिलिग्राम ब्राउन सुगर, ७६ ट्याब्लेट नाइट्राभेट, ३८७ क्याप्सुल स्पास्मो बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी, पाँच किलो ६६८ ग्राम चरेश पनि बरामद गरिएको छ ।कोरोना महामारीका कारण नाका बन्द भएको बेला कञ्चनपुरको बेलौरी क्षेत्र भएर भारतबाट लागुऔषध ओसारपसार भएको जिल्ला प्रहरी कार्यालयको निक्र्योल छ ।

‘बन्दाबन्दी र नाका बन्दकोे क्रममा बेलौरी क्षेत्र हुँदै धनगढीसम्म लागुऔषध पु¥याएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले भने । ‘पछिल्लो समय नाका खुलिसकेको छ । त्यसैले सबै क्षेत्रबाट ओसारपसार हुन सक्ने सम्भावना छ ।’ उनले टीकापुर र भजनी क्षेत्र पनि लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको बताए । लागुऔषधको ओसारपसार, बिक्री वितरण र प्रयोगमा कमी नआएकाले नियन्त्रणका लागि सक्रियता बढाएको प्रहरीले जनाएको छ । लागुऔषध अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

‘लकडाउनको बेला प्रहरीको ध्यान सुरक्षा व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा केन्द्रित थियो’, उनले भने । ‘लकडाउन खुलेपछि हामीले लागुऔषध सम्बन्धी अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिएका छौं ।’  पछिल्लो समय लागुऔषध ओसारपसारमा महिलाको संलग्नता बढ्ना थालेको देखिएको छ ।