कैलालीको लम्की चुहा नगरपालिका-१ का डम्बर बडुवालको परिवारमा यतिबेला बज्रपात परेको छ।परिवारको सहारा एक मात्रै २२ बर्षीय छोरा भूपेन्द्रलाई अल्पायुमा गुमाउनु पर्दा बडुवाल परिवारमा ब्रजपात परेको हो। डम्बरकी श्रीमति छोराको वियोगमा अर्र्धचेतन अवस्थामा छिन्।
उनी समय-समयमा मुर्छा पर्छिन्। उनका आँखाबाट बलिन्द्र धारा आँशु बगिरहका छन्। छिमेकी र इष्टमित्रले पुत्रशोकमा रहेको बडुवाल परिवारलाई सान्त्वना दिने प्रयास गरिरहेका छन्।भूपेन्द्र परिवारका एक्ला छोरा थिए।डम्बरका छोराछोरी गरेर दुई सन्तान थिए।
छोरा भूपेन्द्र जेठो थिए। छोरी कान्छी हुन्। बडुवाल परिवारले छोराछोरीलाई काठमाडौं पढाउँदै आईरहेका थिए। उनी स्नातक अध्ययन गरिरहेका थिए। उनी अमेरिका जाने तयारी पनि गरिरहेका थिए। दसैं मनाउन केही दिनअगाडि घर आएका थिए। घरमा धुमधामसँग दसैं मनाए।
दसैं मनाएर उनकी बहिनी काठमाडौं फर्किइन्। तर भूपेन्द्र तिहारपछि मात्रै काठमाडौं फर्किने सोचमा थिए। अमेरिकाका लागि डीभी पनि परेको थियो, लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाले भनिन् ‘परिवारको आशा–भरोसा र खम्वा भूपेन्द्र नै थिए। तर कलिलो उमेरमै क्रुरुरतापूर्वक हत्या भयो।’‘बाहिर देश जान भूपेन्द्र तयारी गरिरहेका थिए। अमेरिकाका लागि डीभी पनि परेको थियो।’
मंगलबार बेलुका खाना खाएर भूपेन्द्र लम्की बजारबाट केही माथि रहेको घर गए। घरमा बसिरहेका बेला साथी कपिल श्रेष्ठले उनलाई बाहिर बोलाए। गत मंगलबार राति ९ बजेतिर टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिकै एक समूहले धारिलो हतियार (चक्कु) ले हानेर उनको निर्मम हत्या गरिएको थियो।प्रहरीका अनुसार भूपेन्द्रको बायाँतिर कम्मरको माथिल्लो भाग र छातीमा धारिलो हतियारका चोट छन्।
भूपेन्द्रको हत्यामा संलग्न आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी बताउँछन्। स्पष्ट कारण अझै खुल्न सकेको छैन।
रिसइबीका कारण घटना घटेको हुनसक्ने प्रारम्भिक अनुमान छ’, एसपी अधिकारीले भने, ‘घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको छ।’ जिल्ला प्रहरी कार्यालय कैलालीले हत्याको आरोपमा २२ बर्षीय कपिलसहित लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई पक्राउ गरेर हिरासतमा राखिएको छ।