कैलालीमा खुकरी प्रहार गरेर लम्कीका २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ८ जना भने फरार छन्। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार किटानी जाहेरीअनुसार फरार रहेका ८ जनाको खोजी भइरहेको छ। हत्याका योजनाकार भनिएका नविन रावल पनि फरार छन्।
यस्तै हत्यामा प्रयोग भएको चक्कु पनि भेटिएको छैन। ‘चक्कु प्रहार गरेको आरोप लागेका आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेका छौं,’ सापकोटाले भने, ‘उनीहरुलाई सोधपुछ गर्दा चक्कु झाडीमा फालेको बताएका थिए। त्यो झाडीमा चक्कु भेटिएको छैन।’ यसअघि घटनास्थलमा फेला परेको खुकुरी नै हत्यामा प्रयोग भएको बताइएकोमा अभियुक्तले भने चक्कु नै प्रयोग गरेको प्रहरीलाई जानकारी गराएका थिए।
मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय बडुवालको हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन्। देवकोटाबाहेक पक्राउ परेका अन्य सात जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ भने देवकोटालाई चक्कु प्रहार गरेको आरोप लागेको छ।