सुदूरपश्चिमका निवर्तमान प्रदेश प्रमुख भन्छन्ः काम गरिरहेकै बेला अकस्मात हटाउनु गलत
2021/11/12, 6:19
 
aa

सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख गंगाप्रसाद यादव दिपावली र छठ पर्व मनाउन गृह जिल्ला सप्तरी पुगेका थिए। मंगलबार साँझ राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको नयाँ प्रदेश प्रमुखहरूको नाम सामाजिक सञ्जालमा आएपछि मात्रै आफू पदमुक्त भएको जानकारी पाएको यादवले बताएका छन्।

यादवले गत वैशाख २४ गते सुदूरपश्चिम प्रदेश प्रमुखको पदभार ग्रहण गरेका थिए। तर पदबाट हटाउदा जानकारीसम्म नगराएकोमा भने दुःख लागेको उनले बताए। राजनीतिक नियुक्तिबाट प्रदेश प्रमुख बनाइएको भएपनि सरकार परिवर्तनसँगै आलांकारिक पदहरुमा रहेको व्यक्ति संविधान अनुसार काम गरिरहेको बेलामा अकस्मात हटाउनु गलत अभ्यास भएको यादवले बताए। आफ्नो पदावधिको निश्चितता थिएन तर खबरसम्म गर्नुपर्ने यादवको भनाइ छ। उनी केपी शर्मा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त भएका थिए। सुदूरपश्चिमको नयाँ प्रदेश प्रमुखमा बाजुराका देवराज जोशी नियुक्त भएका छन्। यसरी सरकार परिवर्तन भएपिच्छे प्रदेश प्रमुख फेरिनु दुर्भाग्य भएको उनले बताए।

‘जुन सरकार आयो, त्यसैको प्रदेश प्रमुख हुन्छ। यो राजनीतिक पद्धतिको रूपमा विकास भइसकेको छ। त्यसैको घानमा आफू पनि परियो। जतिखेर मन लाग्यो त्यतिखेर पदबाट हटाउनु देशको लागि दुर्भाग्य हो। यहाँ त राजनीतिका नाममा गलहत्याइने परम्परा बसेको छ।’ यादवले राजीनामा दिने मौकासमेत नदिएको बताएका छन्। यादवले सुदूरपश्चिमको ६ महिनाको बसाइ सुखद रहेपनि सोचेको काम भने गर्न नसकेको बताए।

उनले भने, ‘ मेरो बसाइ राम्रो भयो। सबैको सहयोग पाइयो। प्रदेश सरकारको राम्रो सहयोग पाएँ। मैले पनि संविधान अनुसार नै काम गरेँ। तर केही काम गर्न सोचेको थिएँ, कम समयको कारण सोचेको काम गर्न भने सकिएन।’ यादवले सप्तरीमै रहेर सक्रिय राजनीतिमा बाँकी समय बिताउने बताएका छन्।