“देउवाले पूर्वराजा ज्ञानेन्द्रकाे शैलीमा डडेलधुरामा गराएकाे वडा अधिवेशन खारेज हुनुपर्छ” : सभापति मल्ल
2021/11/14, 12:55
 
aa

नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले पार्टी सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रकाे शैलीमा गराएकाे वडा अधिवेशन खारेजीका लागि केन्द्रीय कार्यालयमा धर्ना बस्ने बताएका छन् ।

आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सभापति मल्लले भने, “मैले देउवाकाे विराेध गरेकाे हाेइन, निरङ्कुश कार्यशैलीकाे विराेध गरेकाे हुँ । गुटगत वडा अधिवेशन उहाँकै संरक्षणमा भएकाे हाे । त्याे फिर्ताका लागि धर्नाकाे विकल्प छैन ।”

सभापति मल्लले ७६ जिल्लाकाे वडा अधिवेशन जिल्ला कार्यसमितिकाे निर्णयबाट भएकामा डडेलधुरामा अन्याय भएकाे आराेप लगाए । उनले थपे, “पार्टी सभापति सबैकाे अभिभावक हुन सक्नुपर्छ । एउटा गुटकाे मात्र नेता हुनुहुँदैन । उहाँले सुदूरपश्चिम प्रदेशभरिका सशस्त्र र जनपद प्रहरी उतारेर वडा अधिवेशन गराउनुभयाे । यसले लाेकतन्त्रकाे खिल्ली उडाएकाे छ । बूढानीलकण्ठबाट क्रियाशील सदस्यता थपघट गरिएकाे छ । धाँधली भएकाे प्रमाणसहित उजुरी दिँदा पनि सुनुवाइ भएन ।”