सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुन पर्ने – अध्यक्ष नेपाल
2021/11/18, 3:49
 
aa

 नेपाल कम्युनिस्ट पार्टी एसका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्यालाई छिटो भन्दा छिटो समाधान हुन पर्ने बताएका छन ।

कैलालीको धनगढीमा नेकपा एसको प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रम पछि पत्रकारहरुसँग बोल्दै नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुनु पर्ने धारणा राखेका हुन ।

हाम्रो पाँच दलको गठबन्धनको बैठक बसेर साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटो भन्दा छिटो समाधान गर्ने निर्णय गरेको छ । बैठकले सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको बताउदै उनले प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानको पहल गर्नु पर्ने बताए ।

पार्टी कार्यालय उद्घाटनका क्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने बताए । आफूले स्थापना गरेको नेकपा एमालेको पहिलो पार्टी कार्यालय पनि कञ्चनपुरमा स्थापना गरिएको स्मरण गर्दै नेपालले समाजवादीको कार्यालय स्थापनाको क्रम समेत सुदूरपश्चिमबाटै भएको जनाए ।

उनले अहिले प्रदेश पार्टी कार्यालय भाडाको घरमा सञ्चालन भइरहेकोमा चाडै आफ्नै जग्गा खरिद गरेर भवन निर्माण हुनेमा विश्वस्त रहेको पनि बताए । बुधबार सुदूरपश्चिम पुगेका नेपाल एकीकृत समाजवादी पार्टीले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन् ।